कर्णालीमा दुई महिनामै १४५ स्थानमा पहिरो
सुर्खेतबाट जुम्ला हिँडेका तिलागुफा–६ जुबिथाका कृष्णबहादुर शाही साउन २८ गते कर्णाली राजमार्गको चौखोलामा पहिरो गएपछि एक दिन मान्ममै रोकिए। ‘आजै पुग्ने काम थियो,’ उनले भने, ‘पहिरो खुलेन, बाध्यताले त्यतै बस्नुपर्यो।’ कामको चटारोले रिजर्भ गाडीमा आए पनि गन्तव्यमा पुग्न सकिएन।’
यस्तै बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ का ८५ वर्षीय हरिकृष्ण कैलालाई भदौ ७ गते पखाला लाग्यो। दुई दिनको घरेलु उपचारले सन्चो नभएपछि छोरा अजवीर कैलाले ९ गते बिहान बुवालाई बोकेर कोल्टी लगे। ‘बुवालाई घरेलु उपचारले सन्चो नभएपछि नेपालगन्ज लैजान कोल्टी विमानस्थल पुर्याएँ,’ अजवीरले भने, ‘दुई दिन कुर्दा पनि जहाज आइपुगेन।’
११ गते २० हजार रूपैयाँमा एम्बुलेन्स रिजर्भ गरेर बाजुराबाट उनले बुवालाई सुर्खेततर्फ हिँडाए। कालीकोटको फुगाड खोला तर्न नसकेर एम्बुलेन्स रातभर रोकियो।
भोलिपल्ट बिहान पानी कम भएपछि फुगाड तरेका उनीहरू फेरि कर्णाली राजमार्गमा रोकिए। पहिरोले कालीकोटको तिजेगडादेखि दैलेखको खिड्कीज्युलासम्म विभिन्न ठाउँमा सडक अवरुद्ध गरेको थियो। ‘पहिरोले अवरुद्ध सडकमा मानिसबाट बोकाएरै पार लगाउने निर्णय गरें।
जितेगडादेखि खिड्कीज्युलासम्म कुनै ठाउँमा आफैं र कुनै ठाउँमा भरियालाई बोकाएर ल्याएँ। जितेगडाबाट खिड्कीज्युला आउन ६ घण्टा लाग्यो,’ उनले भने, ‘त्यहाँबाट फेरि गाडी रिजर्भ गरेर बुवालाई सुर्खेत ल्याइपुर्याएँ।’
बिरामी बुवालाई बाजुरा घरबाट सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल ल्याउन उनलाई ६ दिन लाग्यो। ‘हामी हिमाल र पहाडमा बस्ने मानिसलाई स्वास्थ्य उपचार पाउनै मुस्किल रहेछ’ उनले भने, ‘अझ उपचारभन्दा महँगो यातायात हुँदोरहेछ।’
अजवीरले बुवालाई घरदेखि सुर्खेतसम्म ल्याउन झन्डै ६५ हजार रूपैयाँ खर्च गरे।
माथिका केही प्रतिनिधि पात्रझै कर्णाली राजमार्ग भएर यात्रा गर्ने सयौं यात्रुले दिनहुँजसो सास्ती झेल्ने गरेका छन्। साउन २८ गते बिहानदेखि कर्णाली राजमार्ग अवरुद्ध भयो। कालीकोटको चौखोलामा गएको पहिरोले कालीकोट–जुम्ला सडकखण्ड अवरुद्ध भएको थियो।
कालीकोटको खाडाचक्र–१० चौखोलानजिकै ठुला–ठुला ढुंगासहित पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। अविरल वर्षाका कारण राजमार्ग अवरुद्ध भएपछि एक दिन र एक रात यात्रुहरू राजमार्गका विभीन्न ठाउँमा रोकिन पुगे। २९ गते दिउँसो मात्र एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आयो।
साउन २५ गते राति पनि कर्णाली राजमार्ग अवरुद्ध थियो। राजमार्गको सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालीकोटको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो।
ठाउँठाउँमा गएको पहिरो हटाएपछि राजमार्ग २६ गते दिउँसोतिर मात्र सञ्चालनमा आयो। मनसुन सुरु भएयता कर्णाली राजमार्गमा दुई पटक मात्र अवरुद्ध भएको छैन। जेठ २७ गतेदेखि साउन २९ गतेसम्म ५४ पटक कर्णाली राजमार्ग अवरुद्ध भयो। सबैभन्दा बढी कालीकोटमा ६८ पटक अवरुद्ध भयो।
दैलेखमा नौपटक र सुर्खेतमा १ पटक अवरुद्ध भयो। यात्रुले सास्ती खेप्दै यात्रा गरे, बिरामीले त भनै दुःख पाए। यस्तै भाद्र १४ गते बिहानैदेखि कर्णाली राजमार्ग अवरुद्ध भयो, राजमार्ग बन्द भएको पाँच दिनपछि मात्र खुल्यो, उक्त समयमा ४५ वटा स्याउका ट्रकसमेत रोकिए, यात्रुले गन्तव्यमा पुग्नै सास्ती पाए। राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेको छ।
वर्षाको समयमा पानी पर्नासाथ राजमार्गका विभिन्न स्थानमा पहिरो गएर अवरुद्ध हुने गरेको छ। पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालीकोट हुँदै कर्णाली नदीकिनारैकिनार भएर जुम्लासम्म पुग्ने मार्गलाई कर्णाली राजमार्ग भनिन्छ।
निर्माण कालको बेलामा सुर्खेत–जुम्ला राजमार्ग नाम राखिएको यो राजमार्ग विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भएको थियो। २०६३ साल चैत ३० गते सञ्चालनमा आएको सुर्खेत–जुम्ला राजमार्गको लम्बाइ २३२ किलोमिटर छ।
कर्णाली राजमार्ग सञ्चालनमा आएपछि खुसी भएका यस क्षेत्रका स्थानीय दैनिक सास्ती भोग्दा दिक्क छन्। बर्खामा यो राजमार्गमा एक दिनको यात्रा तीनदेखि सात दिनसम्म लाग्ने गरेको छ।
केही दिनअघि सुर्खेतबाट मुगु फर्किएका पदम रावत १३२ किलोमिटर पार गरेर कालीकोटको मान्म पुगे। बाइकमा यात्रा गरिरहेका उनी त्यो दिन कालीकोट र जुम्लाको सिमाना नाग्म पुग्थे। तर कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडकखण्डको ठाउँठाउँमा भएको सडक अवरुद्धले कालीकोटमै बस्न बाध्य भए।
अर्को दिन बिहानै कालीकोटबाट मुगुका लागि हिँडेका उनी कालीकोटको खाँडाचक्र नगरपालिका–५ को मोल्फा बजारमा आएको पहिरोमा फेरि जाममा परे।
बिहान ६ बजेदेखि जाममा परेका उनले स्थानीयको सहयोगमा ११ बजे बाइकलाई तारेर अघि बढेका थिए। फेरि चौखोलामा आएको पहिरोले जाममा परे। यसरी ठाउँठाउँमा भएको राजमार्ग अवरुद्धले उनी दोस्रो दिन पनि मुगु पुग्न सकेनन्। एकदिनको बाटो उनी तीन दिन लगाएर मात्र पुगे। ‘मेरो काम थियो। छिटो पुग्नुपर्ने थियो,’ उनले भने, ‘राजमार्ग अवरुद्धले तीन दिन लगाएर मात्र घर पुगे। बाटोमा दुःख त कति भयो, भयो।’
गाडीचालक उमेश धिताल नामको मात्र राजमार्ग भएको बताउँछन्। ‘राजमार्ग जस्तै भएको भए कोहलपुरबाट मुगुको गमगढी एकै दिनमा पुग्न सकिन्थ्यो,’ उनले भने, ‘सडकको अवस्था जीर्ण छ। त्यसैमाथि वर्षामा पहिरोले जाममा परिन्छ। कति दिनमा गन्तव्यमा पुगिन्छ भन्ने टुंगो हुन्न।’
सडक डिभिजन कार्यालय जुम्लाले २०७९ को असोजमा गएको पहिरोले भत्किएको सडकको स्तरोन्नति गर्न विभिन्न १२ खण्डमा ठेक्का लगाए पनि काम गतिलो भएको छैन। ती ठाउँमा सडक हिलाम्मे हुँदा गाडी फस्ने समस्या उस्तै छ।
दुई दशकअघि ट्र्याक खोलिएको भए पनि कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडकमा वर्षामा पहिरो र हिउँदमा धुलोले यात्रामा सास्ती हुने गरेको छ। प्रहरीका अनुसार कालीकोटमा १०३, दैलेखमा २३ र जुम्लामा सात ठाउँमा पहिरो जाँदा कुल ३९ दिन कर्णाली राजमार्ग अवरुद्ध भएको हो।
सबैभन्दा बढी अवरोध कालीकोट खण्डमा भएको छ। कालीकोटको हुल्म, एस मोड, गगनेखोला, मोल्फा, गल्ली, टाकुल्ला, राचुलीलगायत स्थानमा पटकपटक पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय कालीकोटका निमित्त इन्चार्ज टोपबहादुर महताराले बताए। ‘असार लागेपछि त प्रहरीको काम नै सडकको पहिरो हटाउन पहल गर्ने भएको छ,’ उनले भने, ‘वर्षामा यात्रुलाई पनि निकै सास्ती हुन्छ।’
कर्णाली राजमार्गमा वर्षेनी पहिरोले दुःख दिँदै आएकाले यस वर्ष जिल्ला प्रशासनले सडक विभागसँग समन्वय गरेर तीनवटा डोजर कालीकोट खण्डमा राखेको प्रजिअ गणेश नेपालीले बताए।
उनका अनुसार कालीकोटको पिली, हुल्म र गगने खोलामा सडक विभागका डोजर छन्। ठुलै चट्टान खसेकाले साउन पहिलो साता पहिरो हटाउन पाँच दिन लागे पनि अरू बेला दिनहुँ पहिरो पन्छाएर सडक सञ्चालन गरिएको उनको दाबी छ।
वर्षा लागेपछि प्रहरीको काम पनि सडकमा बढी केन्द्रित भएको डिएसपी अर्जुन केसीले बताए। उनले प्रहरीले कर्णाली राजमार्ग, करिडोरको पहिरोको सूचना आदानप्रदान र सूचारु गर्न काम गरेको सुनाए।
वर्षामा जोखिम मोलेर कर्णाली राजमार्गको यात्रा गर्नुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटमा प्रमुख डिएसपी केसी बताउँछन्। कठिन भूगोलका कारण वर्षाको समयमा पानी पर्नासाथ ठाउँ–ठाउँमा पहिरो जाने र सडक अवरुद्ध हुने गरेको उनले बताए। साथै प्रहरीले समन्वयकारी भूमिका खेलिरहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्