कमला–कञ्चनपुर चार लेन सडकमा चार वर्ष बित्दा बल्लतल्ल आधा काम

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहा र सप्तरीमा विस्तार भइरहेको चार लेन सडक समयमै निर्माण सम्पन्न नगर्दा वर्षौंदेखि हिउँदमा धुलो र वर्षामा हिलो खेप्नु यस मार्गमा हिँड्ने लाखौंको नियति बनेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • निर्माण कार्य ढिलो भएकाले धुलो र हिलोले स्थानीय र यात्रुहरूलाई समस्या भएको छ।
  • सडक विस्तारको काम २०२० देखि जारी भए पनि अझै पूर्ण नभएको र म्याद थपिएको छ, कामको गति भने बढ्न थालेको छ ।
  • निर्माण कार्यमा सामग्री अभाव र नदीजन्य पदार्थको समस्या मुख्य चुनौती रहेका छन्।

जनताका लागि सडक जीवन हो । सडकविनाको जीवन अत्यन्तै कष्टकर हुन्छ । तर, पछिल्लो समय नेपालका सडकले नै जीवन कष्टकर बनाइरहेका छन् । संघीय राजधानी काठमाडौं उपत्यकाभित्रका, उपत्यका प्रवेश गर्ने र देशभरि विभिन्न स्थानमा बनिसकेका, बनिरहेका र बनेर पनि बिग्रिएका सडकले जनतालाई सास्ती दिएका छन् ।

अनलाइनखबरले यो शृङ्खलामा जनतालाई सास्ती दिने तिनै सडकबारे फिल्ड रिपोर्टिङ प्रकाशित गरिरहेको छ । जनतालाई लामो समय सास्ती दिएर अहिले निर्माण सकिएका वा सकिने क्रममा रहेका कतिपय सडकका कथा पनि यसमा समेटिने छन् ।

४ असार, जनकपुरधाम । पूर्व–पश्चिम राजमार्गको धुलोले गोलबजार नगरपालिका–४ का रामकुमार यादव दिक्दार छन् । झन्डै चार वर्षदेखि निर्माणाधीन चार लेन सडकमा मोटरसाइकल चढ्दा उनी हिउँदमा धुलो र वर्षामा हिलो झेल्न बाध्य छन् ।

निजी विद्यालय सञ्चालक यादव धुलोका कारण बेलाबेला रुघाखोकीको चपेटामा पर्छन् । उनले जस्तै विद्यालय जाने बालबालिका पनि धुलो र हिलोले हैरान छन् ।तर, राज्यले समयमै निर्माण सक्न चासो नदिएको उनको गुनासो छ ।

‘चार वर्षदेखि सडक विस्तारको काम भइरहेको छ । तर, अहिलेसम्म पूरा भएको छैन । धूलो र हिलो झेल्नु हाम्रो नियति जस्तै बनेको छ । बालबालिकालाई विद्यालय आउजाउ गर्दा निकै समस्या हुन्छ । बेलाबेला दुर्घटना भएर जनधनको क्षतिको त कुरै नगरौं,’ यादवले गुनासो गरे ।

यादव जस्तै धुलो र धुवाँले हैरान भएका छन् लहानका राकेश रोशन गुप्ता । गुप्ताका अनुसार ५–१० किलोमिटर साइकल, मोटरसाइकल वा अटोरिक्सा चढ्दा शरीरभरि धुलोले ढाकिन्छ । अनिवार्य नुहाउन र कपडा धुनुपर्ने बाध्यता हुन्छ । तर, श्वासमार्फत शरीरभित्र पस्ने धुलोले स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।

‘कपडा धोएर र नुहाएर बाहिरी सफाइ त हुन्छ । तर, श्वासमार्फत छिर्ने धुलोले स्वास्थ्यमा दीर्घकालीन समस्या सिर्जना गरिरहेको छ । धेरै मानिसलाई रुघाखोकीले सताइरहेको छ । दैनिक लाखौं यात्रु यसै किसिमको सास्ती भोगिरहेका छन्,’ गुप्ताले भने ।

उनका अनुसार ठेकेदारले विगत दुई वर्षसम्म काम नगरे झैं गरे । हाल डेढ महिनादेखि मात्र केही गति आएको देखिए पनि भुक्तानीका लागि काम गरेको जस्तो शंका लागेको गुप्ताको भनाइ छ ।

नवीन र राकेश उदाहरण मात्र हुन् । धुलो र हिलोले आजित मिर्चैयाका स्थानीय कयौँ पटक आन्दोलित भइसकेका छन् । बाटो नै अवरुद्ध गरेर चाँडो सडक बनाउन दबाब दिएका थिए ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहा र सप्तरीमा विस्तार भइरहेको चार लेन सडक समयमै निर्माण सम्पन्न नगर्दा वर्षौंदेखि हिउँदमा धुलो र वर्षामा हिलो खेप्नु यस मार्गमा हिँड्ने लाखौंको नियति बनेको छ । बेलाबेला दुर्घटना भएर जनधनको क्षति हुन्छ नै । अब फेरि आउने वर्षाले बढी समस्या झेल्नुपर्ने चिन्ता स्थानीयलाई छ ।

सिरहा कमलादेखि सप्तरी कञ्चनपुरसम्म ८६.८३ किलोमिटर सडक विस्तार जारी छ ।

चाइना रेलवे नम्बर २ इन्जिनियरिङ ग्रुपले जुन २०२० मा ठेक्का पाएको थियो । १५ अर्ब ६६ करोड रुपैयाँमा पाएको ठेक्का अनुसार २८ अक्टोबर २०२३ मै ८५ किलोमिटर सडक चार लेन, पुल, कल्भर्ट, बाइपास बनाइसक्नु पर्ने थियो । तर, हुन सकेन ।

त्यसयता दुई पटक म्याद थपिएको छ । २८ अक्टोबर २०२३ मा १४ महिना र त्यसपछि १२ महिनाको म्याद थपिएर अब ३१ डिसेम्बर २०२५ भित्र कम्पनीले निर्माणको काम सक्नुपर्ने सम्झौता छ ।

तर, काम भने आधाजति मात्र अहिलेसम्म भएको छ । कञ्चनपुर कमला सडक योजनाले पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजन गरेर काम गरिरहेको छ ।

पूर्वी सप्तरी कञ्चनपुरदेखि कुशहासम्म ३९.४२ किलोमिटर र पश्चिमी कुशहादेखि कमलासम्म ४७.४१ किलोमिटर ।

पूर्वी खण्डमा ५४ प्रतिशत प्रगति

पूर्वी कञ्चनपुरदेखि कुशहा योजनाका इन्जिनियर राजीवकुमार झाका अनुसार कञ्चनपुरदेखि कुशहासम्म ३९.४२ किलोमिटरमा अहिलेसम्म भौतिक प्रगति ५४ प्रतिशत छ भने भुक्तानी ४५.७२ प्रतिशत छ ।

३९.४२ किलोमिटरमध्ये कालोपत्रको काम भने एकतर्फी १८ किलोमिटरमात्र भएको छ । दुईतर्फी कालोपत्रको काम खासै हुन सकेको छैन ।

इन्जिनियर झाका असार पूर्वी खण्डमा २९ वटा पुल बनाउनु पर्नेमा एकतर्फी दुई लेनको सबैको फाउन्डेसन र सबस्ट्रक्चरको काम सम्पन्न भइसकेको छ । २९ मध्ये १६ वटा पुल सुपरस्ट्रक्चरको काम सम्पन्न भएको इन्जिनियर झाको भनाइ छ । तर, फिनिसिङ बाँकी रहेकाले सञ्चालन हुन बाँकी छ । त्यस्तै १ सय १४ वटै कलभर्ट निर्माणको काम दुईतर्फी नै सम्पन्न भइससकेको छ ।

इन्जियिर झा विगत दुई वर्षमा ठेकेदार विभिन्न कारण काम सुस्त गतिमा गरेको बताउँछन् ।

‘पहिलो त सुरुमै कोरोना महामारी आयो । रुखहरू समयमा काटिएन । बिजुलीका पोल सारिएन । विभिन्न स्थानमा नाला लगायत कारण स्थानीयको अवरोध भयो । यी कारण र ठेकेदार कम्पनीको आर्थिक समस्याले पनि कामले गति लिएको थिएन,’ झाले भने ।

पछिल्लो समय लिएको कामको गति निरन्तर रहे डिसेम्बरभित्र सकिने सम्भावना छ ।

‘विगतमा ०.२५ प्रतिशत प्रगतिमा काम भएको थियो । अहिले मासिक २.५ प्रतिशत प्रगति भइरहेको छ । दैनिक एक किलोमिटर कालोपत्र । यही गतिमा काम गर्‍यो भने तीन महिनाभित्र कालोपत्रको काम सकिन्छ । डिसेम्बरभित्र सबै काम सक्ने सम्भावना छ,’ उले भने ।

उनको भनाइमा नदीजन्य पदार्थ सडक विस्तारमा मुख्य चुनौती बनेको छ । पुर्वी खण्ड पूरा गर्न ५ लाख घनमिटर ग्राभेल, ढुंगा, गिट्टी चाहिन्छ । तर, खुट्टी खोलामा मात्र उत्खनन भइरहेको छ । त्यहाँ पनि बीचबीचमा समस्या आउने गरेको छ । वर्षा भएपछि खोलाबाट उत्खनन गर्न पाइँदैन । त्यसले काममा अवरोध हुने सम्भावना छ ।

‘मेटरियल उपलब्धता मुख्य चुनौती बनेको छ । पूर्वीतिरका लागि मात्र ५ लाख घनमिटर मेटरियल चाहिन्छ बेस कालोपत्रमा । तर, मेटरियलको स्रोत भनेको एउटा खुट्टी खोलामात्र छ । त्यहाँ पनि बेलाबेला अवरोध भइरहन्छ,’ उनी भन्छन्, ‘यदि मेटरियलमा समस्या भयो भने समयमा सक्न गाह्रो हुन सक्छ ।’

कुशहादेखि कमलासम्म ६० प्रतिशत प्रगति

कुशहादेखि कमलासम्म ४७.४१ किलोमिटर चार लेन सडक विस्तारमा हालसम्म ६०.३१ प्रतिशत भौतिक प्रगति छ । पश्चिमी योजनाका सूचना अधिकारी इन्जिनियर सरोज कोइरालाका अनुसार ४७.४१ किलोमिटरमध्ये दक्षिणतर्फको ३१.९ र उत्तरतर्फको २५.९ किलोमिटरमा कालोपत्र भइसकेको छ ।

कालोपत्र अब १६ किलोमिटरमात्र बाँकी छ । दक्षिणतर्फ १६ र उत्तरतर्फ २२ किलोमिटर कालोपत्र गरेपछि काम सकिन्छ ।

बजार क्षेत्र लहान, गोलबजार, मिर्चैया, बन्दीपुर बाहेकमा कालोपत्र बाँकी छ । लहानमा ओभरपासका लागि सहिद स्तम्भ व्यवस्थापन, धाराको पाइप स्थान्तरण, गोलबजार र बन्दीपुरमा बिजुलीको पोल नहटाउँदा काममा समस्या भइरहेको सूचना अधिकारी कोइराला बताउँछन् ।

‘चार वटा बजार एरिया बाहेक हाम्रो धेरै काम भइसकेको छ । बजार क्षेत्रमा धाराको पाइप स्थान्तरण, बिजुलीको पोल नहटाउँदा काममा समस्या आइरहेको छ,’ उनी भन्छन् ।

दुईतर्फी रूपमै सबै १ सय १२ वटा कल्भर्ट बनिसकेको छ । भुक्तानी ४८.६९ प्रतिशत भइसकेको छ ।

उनका अनुसार यस खण्डमा जम्मा एकतर्फी २५ वटा पुल बनाउनु पर्नेमा १९ वटा ढलान भइसकेको छ । २ वटा ओभरपास लहान र मिर्चैयामा निर्माण गर्नुपर्ने छ । लहानमा सहिद रमेश महतोको स्तम्भ सार्ने कारण सुरु भएको छैन भने मिर्चैयाको ओभरपासको काम सुरु भइसकेको उनको भनाइ छ ।

‘काम धेरै भइसकेको छ । पुलहरू नयाँ पनि बनाउनु पर्ने, गाडी पुरानो पुलमा पनि चलाइरहनु पर्ने भएका कारण डाइभर्सन यताउता भएर काम नभएको हो कि जस्तो भएको छ । तर, द्रुत गतिमा भइरहेको छ,’ उनले भने ।

यस खण्डमा काम सकाउन पनि डर भनेको नदीजन्य पदार्थकै छ । ४ लाख घनमिटर नदीजन्य पदार्थ चाहिने सूचना अधिकारी कोइरालको भनाइ छ ।

विगतमा कम्पनीले कामलाई गति नदिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सचेत गराएको थियो । त्यसयता कामलाई कम्पनीले गति दिएको पश्चिमी योजना प्रमुख उज्वल श्रेष्ठले बताए ।

‘काम सुस्त गतिमा भइरहेको भनेर मन्त्रालय स्तरमा यस विषयमा छलफल भयो । एकपटक अझै म्याद थपौं । भएन भने ठेक्का तोड्ने कुरा भयो । कम्पनीलाई सचेत गराइएको थियो । दोस्रोपटक म्याद थपेपछि कम्पनीले चैतदेखि द्रुत गतिमा गरिरहेको छ’ उनले भने, ‘धेरै काम भइसकेको छ । यही हिसाबले काम भयो, सबै सहजता भयो भने चाँडै सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here