कतारमा थपिए एकैदिन २२ सय बढी नयाँ संक्रमित

२२ पुस, दोहा । कतारमा पछिल्लो केही दिनयता कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै बुधबार एकैदिन २२ सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार २ हजार २ सय ७३ नयाँ संक्रमित थपिएका हुन् । तीमध्ये १ हजार ६ सय ८७ समुदायभित्रकै संक्रमित हुन् भने ५ सय ८६ विदेशबाट फर्केका यात्रु हुन् । योसँगै कतारमा संक्रमितको संख्या २ लाख ५७ हजार ५ सय ४ पुगेको छ ।

frontline

पछिल्लो २४ घण्टामा कतारमा १९३ जना संक्रमित निको भएका छन् । निको हुनेको संख्या पनि २ लाख ४५ हजार ४६७ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म कतारमा ६१८ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

यो समाचार तयार पार्दासम्म कतारमा सक्रिय संक्रमितको संख्या १० हजार ४१९ रहेको छ भने ४४६ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् ।

तीमध्ये ३५ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारमा यो समाचार तयार पर्दासम्म ५२ लाख ४५ हजार ७३८ जनाले कोरोना विरुद्धको खोप लगाईसकेका छन् भने ३ लाख ९ हजार ६७५ जनाले बुस्टर डोज समेत लगाइसकेको मन्त्रालयले जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे नखुलाए पनि अहिले ठूलो संख्यामा नेपाली कामदार पनि संक्रमित भएको बुझिएको छ ।

अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाइसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

खोप नलिएका सबै योग्य व्यक्तिहरूलाई खोप लिन र दुवै डोज खोप लगाइसकेकालाई बुस्टर डोज लिन समेत मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here