‘कक्षा नर्स’को भूमिका निभाउने १० वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु
१९ माघ, लसएन्जेल्स । विद्यालयमा ‘कक्षा नर्स’को भूमिका निभाउन लगाएपछि कोभिड–१९ संक्रमित भएर मृत्यु भएकी अमेरिकाको भर्जिनिया निवासी १० वर्षीया बालिकाका मातापिताले विद्यालय प्रशासनसमक्ष कडा आक्रोश र आलोचना व्यक्त गरेका छन् ।
उनीहरूले आफ्नो छोरीको मृत्यु सम्बन्धमा गम्भीर अनुसन्धान गरिनुपर्ने माग गरेका छन् ।
टाउको दुख्न थालेको पाँच दिनपछि अर्थात् गएको सेप्टेम्बर २७ मा टेरेस्सा स्पेर्रीको मृत्यु भएको थियो । टेरेस्साका अभिभावकले उनलाई विद्यालयमा बिरामी बालबालिकालाई नर्सको कार्यालयसम्म पुर्याउने जिम्मा दिइएको बताएको ६ दिनपछि उनको मृत्यु भएको हो ।
टेरेस्साको मृत्यु भएको दुई दिनपछिसम्म पनि उनी कोभिड–१९ संक्रमित भएको जानकारी उनका अभिभावकलाई नदिइएको बुझिएको छ ।
टेरेस्सालाई सेप्टेम्बर २१ मा उनी पढ्ने विद्यालय हिलप्वाइन्ट इलेमेन्ट्रिमा कक्षा नर्सको भूमिका निभाउने अभिभारा दिइएको थियो ।
विद्यालयका अनुसार उनले बिरामी विद्यार्थीहरूलाई नर्सको कक्षसम्म पुर्याउने गरेकी थिइन् ।
तर, विद्यालयले कोभिड–१९ का लक्षण देखिएका विद्यार्थीहरूसँग सम्पर्कमा आउँदा स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण नियम पूर्ण रूपमा पालना गरिएको जनाएको छ ।
विद्यालयले टेरेस्सालाई कहिले संक्रमण भएको भन्ने यकिन समय बताउन सकेको छैन । उनले स्वास्थ्यसम्बन्धी सामान्य समस्या र चोटपटक लागेका विद्यार्थीलाई मात्र नर्सकहाँ पुर्याउने गरेको बताइएको छ ।
सो विद्यालयका एकजना शिक्षकले टेरेस्सा र उनले सहयोग गरेका कुनै पनि विद्यार्थीमा कोभिड–१९ को लक्षण देखा नपरेको तथा उनलाई त्यस्तो लक्षण देखिएकाहरूलाई नर्सको कक्षसम्म पुर्याउनुपर्ने काम पनि नदिइएको बताएका छन्
टेरेस्साका पिताले बताएका छन्, “मेरी छोरीलाई त्यस्तो काममा लगाइनुअघि विद्यालयले हामीसँग अनुमति लिएन । कोभिडको यत्रो भयावह महामारीको बेला एउटी फुच्चीलाई त्यस्तो काम गराउनु हुन्थ्यो ? यो वाहियात र पागलपन काम हो । यदि, कसैले सोधेकै भए पनि मैले रोक्थेँ ।”
टेरेस्साका आमाबुबाले समयमै छोरीको स्वास्थ्यस्थितिबारे विद्यालयले जानकारी नदिएको गुनासो गरेका हुन् । डेली बिस्टबाट ।
प्रतिक्रिया दिनुहोस्