औद्योगिक ग्राम: ‘महिला उद्योग ग्राम’मा रुपान्तरण पाँचखाल नगर
‘कृषि नगर’ पाँचखाल नगरपालिकामा निर्माण हुने मुलुककै पहिलो महिला उद्यमी तथा हरित औद्योगिक ग्रामलाई ‘महिला उद्योग ग्राम’मा रुपान्तरण गरिएको छ । सोमबार संसद्मा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेकाे बजेट वक्तव्यमा निर्माणको प्रक्रियामा रहेको उक्त ग्रामलाई महिला उद्योग ग्राम नामकरण गर्ने घोषणा गरिएको हो ।
उक्त ग्रामको हालैमात्र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । बजेट वक्तव्यमा ग्रामका लागि आवश्यक बजेट विनियोजन गरिनेसमेत जनाइएको छ । नगरको ७ नं वडास्थित करिब पाँच हेक्टर (९८ रोपनी)जमिनमा भौतिक पूर्वाधार निर्माणका लागि जमिन सम्याउने काम सम्पन्न भइसकेको छ । ग्राम स्थापनाका लागि पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासङ्घ नेपालबीच २०७६ भदौमा त्रिपक्षीय सम्झौता भई प्रक्रिया अघि बढाइएको थियो । प्रारम्भिक चरणमा ग्रामका लागि सडक स्तरोन्नति, खानेपानी ट्याङ्की निर्माण तथा डिपिआर तयार गर्न रु ६० लाख विनियोजन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्