ओली–प्रचण्ड टेलिफोन संवाद, संसद्को अवरोध खुलाइदिन ओलीको आग्रह

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी संसद् अवरोध गर्दै आएका बेला ओली र प्रचण्डबीच टेलिफोन संवाद भएको हो ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी संसद्को अवरोध खुलाइदिन आग्रह गरे।
- माओवादी केन्द्रसहितका दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै संसद्को अवरोध गर्दै आएका बेला ओली र प्रचण्डबीच संवाद भएको हो।
- प्रचण्डले बजेट ल्याउन दिने विषयमा सकारात्मक जवाफ दिए पनि, गृहमन्त्रीको राजीनामा आवश्यक रहेको अडान कायम राखे।
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी संसद्को अवरोध खुलाइदिन आग्रह गरेका छन् ।
माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी संसद् अवरोध गर्दै आएका बेला ओली र प्रचण्डबीच टेलिफोन संवाद भएको हो ।
मंगलबार माओवादीसहितका दलको अवरोधका कारण संसद् बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो । आज पनि संसद् चल्न नदिने अडानका कारण बैठक निर्धारित समयमा बस्न सकेको छैन ।
बिहीबार १५ जेठ बजेट ल्याउने दिन भएकाले प्रधानमन्त्री ओलीले प्रचण्डलाई संसद् अवरोध हटाइदिन भनेका थिए । तर प्रचण्डले बजेट ल्याउन दिने विषयमा सकारात्मक जवाफ दिएको स्रोतले बतायो ।
‘बजेट संविधान र जनतासँग जोडिएकाले बजेट ल्याउन दिन्छौं तर भिजिट भिसामा गृहमन्त्रीको सचिवालयसमेत जोडिएकाले उहाँले राजीनामा दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
प्रचण्डले ओलीलाई यस विषयमा विहीबार बिहान बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी पनि गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्