ओलम्पिक कमिटीमा खेलकुद मन्त्रीको स्वागत आसन्न एसियाली खेलकुदबारे प्रारम्भिक छलफल

२५ कार्तिक, काठमाडौं । नेपाल ओलम्पिक कमिटीले बिहीबार सातदोबाटोको ओलम्पिक भवनमा आयोजित विशेष कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई औपचारिक रूपमा स्वागत गरेको छ ।

त्यस अवसरमा सन् २०२२ मा चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदमा नेपालको सहभागिताबारे प्रारम्भिक छलफल भएको थियो । प्रतियोगिता आउने वर्ष सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुनेछ । छलफलमा नेपालको सम्भावित सहभागिता, त्यसको तयारी र समस्या तथा औचित्यमा केन्द्रित थियो ।

frontline

छलफल युवा तथा खेलकुद मन्त्री गहतराजको मुख्य आथित्यमा भएको थियो । त्यस अवसरमा उहाँले खेलकुद संघलाई आफ्नो तयारी सुरु गर्न निर्देशन दिनु भयो । यस्तै उहाँले त्यसका लागि आवश्यक बजेटको व्यवस्थाका लागि पहल हुने बताउनु भयो । उहाँले नेपालको तयारी गुणात्मक रूपमा राम्रो हुनु पर्ने र पदक जितमा केन्द्रित हुनु पर्नेमा जोड दिनु भयो ।

उहाँले भन्नु भयो, ‘नेपाली खेलकुदले पछिल्लो समय केही सफलता पनि प्राप्त गरको छ । त्यसको अर्थ हामीले अन्तर्राष्ट्रिय खेलकुदमा केही गर्न सक्छौं भन्ने नै हो ।’ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नयाँ खेलकुद ऐनपछि नेपाली खेलकुद नयाँ अध्यायमा प्रवेश गरेको बताउँदै देशको विकासका लागि सरकार, ओलम्पिक कमिटी र संघबीच समन्वयको आवश्यकता रहेको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले भन्नु भयो, ‘एसियाली खेलकुदमा पदकका लागि ठोस तयारीको आवश्यकता पर्ने हुन्छ । यो एक दिनको तयारीले पुग्ने हुँदैन् । अबको एसियाली खेलकुदमा हामीले राम्रो प्रदर्शनका लागि तयारी अहिले तयारी सुरु गर्नु पर्ने हुन्छ ।’ उहाँले यसपल्टको एसियाली खेलकुदमा नेपालको सहभागिता राम्रो प्रदर्शनका लागि हुनु पर्नेमा जोड दिनु भयो ।

त्यस अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नवनियुक्त मन्त्रीको स्वागत गर्दै उहाँको नेतृत्वमा नेपाली खेलकुद चलायमान हुने विश्वास पोख्नु भयो । एसियाली खेलकुदको तयारीका लागि भएको प्रारम्भिक छलफलमा विभिन्न खेल संघका पदाधिकारी तथा पूर्व खेलाडीले आफ्नो खेलमा रहेको समस्या, बजेटको अभाव, भौतिक पूर्वाधार र खेल सामग्रीको अर्पाप्तताबारे बोल्नु भएको थियो ।

भलिबल, रग्वी, गल्फ, एथलेटिक्स, इक्वेस्ट्रियन, कराँते, उसु, टेबल टेनिस, तेक्वान्दो, राफ्टिङ, क्यानोइङ, कुस्ती, पौडी, साइक्लिङ, जुडो, टेनिस, कपर्दी, फेन्सिङ, बक्सिङ, ट्रायथलन र ब्याडमिन्टन संघका प्रतिनिधित्वले आफ्ना धारणा राखेका थिए ।

यसक्रममा ट्रायथलन संघका अध्यक्ष समेत रहेका ओलम्पिक कमिटीका महासचिव श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुदमा पदक विजेता संघलाई दिने भनेर घोषणा भएको पुरस्कार राशि अहिलेसम्म प्राप्त नभएको बताउँदै ठूला प्रतियोगितामा राम्रो प्रदर्शनका लागि संघ तथा खेलाडीलाई प्रोत्साहित गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रमको ओलम्पिक कमिटीको पदाधिकारी, यस अन्तर्गतका कमिसनका पदाधिकारी, विभिन्न खेल संघका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here