ओलम्पिक औपचारिक रुपमा आजबाट सुरु
काठमाडौं । विश्व खेलकुदको कुम्भ मेला मानिने ओलम्पिक खेलकुद आजबाट जापानको टोकियोमा औपचारिक रुपमा सुरु हुँदै छ ।
ओलम्पिकका केही खेलहरु दुई दिन अघिबाट नै सुरु भइसके पनि उदघाटनको औपचारिक समारोह भने आज हुन लागेको हो । नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट ओलम्पिकको उदघाटन समारोह सुरु हुनेछ ।
उदघाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा पौडी खेलाडी गौरिका सिंहले बोक्नेछिन् । नेपालबाट गौरिका सिंहसँगै एलेक्जेण्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन् ।
उदघाटन समारोहमा १५ राष्ट्र र संगठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ । ओलम्पिकमा सहभागिता जनाउन विश्वका २ सय ४ देश तथा क्षेत्रबाट ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो पुगेका छन् ।
प्रतियोगितामा कोरोनाभाइरस संक्रमण नफैलियोस् भन्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोना महामारीले अघिल्लो वर्ष हुन नसकेको गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करणको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नै राखिएको छ । २३ जुलाइमा सुरु हुने ओलम्पिक ८ अगस्टमा सकिने छ ।
संक्रमणको जोखिमका कारण ओलम्पिक आयोजक कमिटी र आइओसीले विना दर्शक खेल सन्चालन गर्ने निर्णय यसअघि नै गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्