ओमिक्रोनबाट जनताको सुरक्षाका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन
२० मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासहित सिंहदरवारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन् ।
सभापति घर्तीले कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पुर्याउने कुरा चाँडै कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिइन् । उनले ज्येष्ठनागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिइन् ।
त्यस्तै सभापति घर्तीका अनुसार समितिले हरेक, वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकी जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिइन् ।
उनले कोरोनाको नयाँ भेरियन्टबाट बच्नको लागि अक्सिजन र भेन्टिलेटरको अवस्था बुझी आवश्यक्ताअनुसार जुटाउन र प्रयोग भइसकेका कुराहरुलाई व्यवस्थित गर्न पनि निर्देशन दिइन् ।
ज्येष्ठनागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्दा राम्रो हुने उनको सुझाव थियो ।
‘ओमिक्रोनबाट बच्न र आम मानिसमा भय हुन नदिन शतर्कता अपनाउनु पर्छ भन्ने कुराको चेतना दिनुपर्छ । यो आइहाल्यो भने त हामीलाई गाह्रो हुन्छ, त्यसको पूर्वतयारीको लागि मन्त्रालय लाग्नुस्,’ उनले भनिन्, ‘नेपालमा ओमिक्रोनको खतरा सबैभन्दा धेरै भारतबाट नै छ ।
त्यसैले भारतबाट आउने मानिस सबैलाई खोप लगाएको कार्ड र आउने बेला पीसीआर यी दुई वटा कुरामा मन्त्रालयले ध्यान दिनुपर्छ ।’
सभापति घर्तीले अहिले राजनीतिक मुद्दा भन्दा पनि कोरोनाको तेस्रो भेरियन्टबाट जनताको ज्यानको सुरक्षातर्फ लाग्न पनि निर्देशन दिइन् ।
प्रतिक्रिया दिनुहोस्