ओमिक्रोनको त्रास : उच्च सतर्कता अपनाउन दक्षिण अफ्रिकी वैज्ञानिकको अनुरोध
१९ मंसिर, काठमाडौं । कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सुरुवाती डाटाले इम्युनिटीलाई केही हदसम्म निश्प्रभावी बनाउने देखिएको छ ।
अझ थुप्रै अध्ययन हुन बाँकी रहेकाले यसैलाई निष्कर्ष मानी हाल्न भने नहुने चिकित्सकहरूले बताएका छन् ।
वैज्ञानिकहरूले यसअघि कोभिड १९ को सङ्क्रमण भई सकेकाहरूमा फेरी यसको सङ्क्रमण देखिएका कारण यो बताएका हुन् । यसको सबै निचोड निकाल्न अझै केही दिन लाग्ने भएको छ ।
साथै हाल लगाइएको कोरोना भाइरसको भ्याक्सिन कत्तिको प्रभावकारी हुने भन्ने टुङ्गो अझै लागेको छैन ।
‘ओमिक्रोन’ पत्ता लागेको एक सातामा धेरै तथ्य पत्ता लगाउन बाँकी छ । यसका बारेमा केही सुरुवात भने भइसकेको छ ।
यसअघि नै यो भेरियन्ट धेरै नै म्युटेसन भई रहने खालको भएको दक्षिण अफ्रिकाले संसारलाई जानकारी गराएको थियो ।
पछिल्लो अध्ययन अनुसार यसअघि कोभिड भई सकेकाहरूमा पनि ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमणको सम्भावना देखिएको हो । यो भेरियन्ट ३० भन्दा बढी देशमा पुगी सकेको छ ।
वैज्ञानिकहरूले दक्षिण अफ्रिकामा ३६ हजारभन्दा बढी पुनः सङ्क्रमण भएको पुष्टि गरेका छन् । यी व्यक्तिमा दुई या सो भन्दा बढी पटक यस्तो समस्या देखिएको छ ।
यसअघि डेल्टा र बेटा भेरियन्टको प्रभाव रहँदा फेरी सङ्क्रमण हुने सम्भावना यत्ति धेरै थिएन । तर, ल्याबको अनुसन्धान अनुसार सो भेरियन्टले पनि केही इम्युनिटीलाई निश्प्रभावी तुल्याउने देखाइएको थियो ।
ओमिक्रोनले स्पाइक प्रोटिनमै आक्रमण गरेर फेरी सङ्क्रमण हुने सम्भावना देखिएको हो ।
त्यसो त, दक्षिण अफ्रिकी वैज्ञानिकहरूको यो प्रतिवेदनलाई संसारका अन्य वैज्ञानिकले फेरी अध्ययन गर्न बाँकी नै रहेको छ ।
तर, अन्य सबै पुरानो भेरियन्टभन्दा पुनः सङ्क्रमणको जोखिम दुई गुणा भएपछि यसबाट उच्च सतर्कता अपनाउन दक्षिण अफ्रिकी वैज्ञानिकहरूले संसारलाई अनुरोध गरेका छन् ।
अध्ययनमा सहभागी स्टेलनबोस्क विश्वविद्यालयका प्राध्यापक जुलियट पुलियमकै अनुसार पहिला सङ्क्रमित भइसकेकाहरूमा पुन: सङ्क्रमणको जोखिम आंशिक रहेको छ ।
तथापि उनी पनि थुप्रै रहस्यमा यो सानो अंश मात्र पत्ता लागेको बताउँछन् । पुरानो कुन भेरियन्टको इम्युनिटीले यसलाई कत्तिको प्रतिरोध गर्छ भनेर पत्ता लगाउन अझ केही समय कुर्नु पर्ने उनी बताउँछन् ।
दक्षिण अफ्रिकामा एचआइभीको प्रभाव पनि धेरै छ । एचआइभी भएकाहरूमा इम्युनिटी सिस्टम कमजोर हुने गरेको छ । यी सबै समस्याको बाबजुद दक्षिण अफ्रिकी वैज्ञानिकहरूले अर्को सातासम्म शरीरमा भएको एन्टीबडी यो भेरियन्टका लागि कत्ति प्रभावकारी हुने भन्ने पत्ता लगाइ सक्ने जनाएका छन् ।
दक्षिण अफ्रिकामा अहिले २४ प्रतिशतले पुरै डोज भ्याक्सिन लगाएका छन् । प्राकृतिक एन्टीबडी धेरै भएका देशका लागि समेत यो अध्ययन महत्त्वपूर्ण हुने वैज्ञानिकहरूको ठहर छ ।
प्राध्यापक पुलियम भ्याक्सिनले दिएको एन्टीबडीको हकमा के हुने भन्ने डाटा पाउन कठिन हुने बताउँछन् । इम्युन सिस्टमलाई बुस्ट गर्ने यसको असरलाई कम गर्ने उपयुक्त आधार भएको पुलियम बताउँछन् ।
युनिभर्सिटी अफ इस्ट एंगेलीयाका प्राध्यापक पाउल हन्टर सुरुवाती डाटाले प्राकृतिक एन्टीबडी मात्र नभई भ्याक्सिनको एन्टीबडीमा पनि यो भेरियन्टले धेरै असर गर्न सक्ने बताउँछन् ।
उनले धेरै हदसम्म यो भेरियन्ट हाबी हुन सक्ने चिन्ता व्यक्त गर्छन् । कत्ति मात्रामा यसले भ्याक्सिनको असर घटाउँछ, भन्ने अझै अस्पष्ट भएको उनी बताउँछन् ।
भ्याक्सिनको असर बारे शङ्का उत्पन्न भई रहेको समयमा धेरै वैज्ञानिकले भ्याक्सिनले सङ्क्रमण रोक्न धेरै उपयोगी नभए पनि गम्भीर लक्षण नदेखिन र मृत्युको सम्भावना कम गर्न सहयोग गर्ने भएकाले भ्याक्सिन अझ तीव्र गतिमा दिनु पर्ने कुरामा जोड दिँदै आएका छन् ।
तर, पनि यसबाट बच्न धेरै सचेत हुन जरुरी छ किनभने यो धेरै मात्रामा सङ्क्रमण फैलिएमा अस्पतालले भार भन्दा बढी बिरामी हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
यो फैलिएमा अस्पतालको चाप कत्तिको बढ्ने हो भनेर पत्ता लगाउन अझ दुई साता कुर्नु पर्ने हुन सक्छ । दक्षिण अफ्रिकामा तुलनात्मक रूपमा युवाहरूको सख्य बढी छ ।
त्यहाँ युवाहरूमा नै यो सङ्क्रमण देखिएको छ । यसका साथै लक्षण पनि सामान्य नै देखिएको छ । युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक फ्रान्को बलाउक्स स्पाइक प्रोटिनमा भएको इम्युनिटीमा म्युटेसनका कारण प्रभाव पारेको बताउँछन् ।
उनी पनि यसको थप रहस्य पत्ता लाग्न अझ केही समय कुर्नु पर्ने कुरामा सहमत छन् ।
कोरोना भाइरसका लागि सबैभन्दा परिचित टेस्टिङ प्रविधि पोलीमेराज चेन रियाक्सन (पीसीसीआर) परीक्षण हो । यसबाट कोरोना भाइरस भएको या नभएको भन्ने मात्र पत्ता लाग्छ ।
यसमा ओमिक्रोन सङ्क्रमण हो या होइन भन्ने पत्ता लगाउन विशेष खालको ल्याब परीक्षणको आवश्यकता हुन्छ । विकसित देशमा यो सुविधा भए पनि नेपाल जस्तो सामान्य देशमा अहिले यो सुविधा छैन ।
‘ओमिक्रोन’ हो या होइन भन्ने कुरा पत्ता लगाउनका लागि पूर्ण जिन अध्ययन आवश्यक हुन्छ । यसलाई कम्तीमा दुई साताको समय लाग्ने छ ।
विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)ले भने दु:खदायी नभएर यसको तयारीमा लाग्नु पर्ने जनाएको छ । शुक्रबार एक सम्मेलनमा डब्लुएचओकी शीर्ष वैज्ञानिक सौम्य सामनाथनले एक वर्ष अघिको भन्दा अहिले अवस्था धेरै फरक भइसकेको बताएकी छिन् ।
उनले एकदम सङ्क्रामक रहेको दक्षिण अफ्रिकाको तथ्याङ्कका अनुसार यो संसार भर प्रभाव राख्न सक्ने भेरियन्ट हुन सक्ने जनाएकी छन् । उनका अनुसार अहिले संसारका रहेको केस मध्य] ९९ प्रतिशत केस डेल्टाको छ ।
डब्लुएचओका आपत्कालीन निर्देशक माइक रेनले पनि अहिले एकदम प्रभावकारी भ्याक्सिन भएका कारण यसलाई छिटो वितरण गर्नु पर्नेमा जोड दिएका छन् । नयाँ ‘ओमिक्रोन’ भेरियन्टले त्यसलाई कुनै असर नगर्ने भन्ने प्रमाण नभेटिएका कारण धेरै चिन्ता गर्नु जरुरी नभएको उनले बताए ।
यसका सावधानीका विभिन्न देशले फरक नीति लिएका छन् । अमेरिका प्रस्थान गर्ने कुनै पनि व्यक्तिले एक दिन अगाडीको कोभिड रिपोर्ट पेस गर्नुपर्नेछ । अमेरिकाकै कम्तीमा ६ राज्यमा ओमिक्रोन भेरियन्ट देखिएको छ ।
भारतमा पनि ओमिक्रोनको दुई केस देखा परेको छ । यी मध्यका एक ६६ वर्षीय दक्षिण अफ्रिकी नागरिकले अहिले देश छाडी सकेका छन् । अर्का कुनै यात्रा रिपोर्ट नभएका दक्षिण भारतका एक चिकित्सक छन् ।
गत अप्रिल र मे महिनामा कोभिड १९ को दोस्रो लहरले स्वास्थ्य संयन्त्र नै तहसनहस भएका कारण अहिले भारत बढी संवेदनशील पाइएको छ ।
युरोपेली देशमा यो भेरियन्ट बढेसँगै नयाँ सुरक्षा मापदण्ड अपनाउने क्रमलाई निरन्तरता दिएका छन् । जर्मनीको नयाँ मापदण्ड अनुसार भ्याक्सिन नलगाउनेलाई कडाइ गरिएको छ । भ्याक्सिन लगाएका या केही समय अघि मात्र कोभिड भएर निको भएकालाई मात्र रेस्टुरेन्ट, सिनेमा हल र अन्य पसलहरूमा प्रवेश दिइने भएको छ ।
चान्सलर एन्जोलो मार्केलले फेब्रुअरी महिनादेखि अनिवार्य भ्याक्सिन लगाउने नियमलाई अनिवार्य गरिने बताएकी छन् । यसैगरी, अस्ट्रियाले पनि १ फेब्रुअरीदेखि त्यहाँ बसोबास गर्ने सबैले अनिवार्य भ्याक्सिन लगाउनै पर्ने नियम राखेको छ । यसैगरी, बेल्जियम र नेदरल्यान्डले पनि आफ्ना नियममा कडाइ गरी रहेका छन् ।
बेलायतले जनवरी महिनाको अन्त्यदेखि सबै वयस्कलाई बुस्टर डोजको व्यवस्था गरिरहेको छ ।
अहिले संसारमा नै कम भ्याक्सिन दिइएका कारण बारम्बार यो भेरियन्ट देखिएको जनाइएको छ । यसका बाबजुद कतिपय देशले पर्याप्त भ्याक्सिन उपलब्ध गराउन सकेका छैनन् भने कतिपय देशमा भ्याक्सिन प्रति हिचकिचाहट देखिएको छ ।
दक्षिण अफ्रिकामा प्रति १०० व्यक्ति ४० डोज दिइएको छ भने लेसोथोमा ३० डोजभन्दा पनि कम दिइएको छ । यसैगरि, नामिबियामा २५ डोज दिइएको छ । भ्याक्सिन नलगाएको मानिसको शरीरमा भाइरस धेरै समय बस्ने र म्युटेसन हुने अवसर पाउँछन् ।
दक्षिण अफ्रिकामै यसरी म्युटेसन हुनुको कारण एचआइभीको समस्या पनि हो । एचआइभी भएका मानिसहरू कमजोर हुने हुँदा उनीहरूको शरीरमा पनि यो भाइरस धेरै समय रहन्छ ।
अहिले देखिएको ‘ओमिक्रोन’ भेरियन्ट कत्ति घातक हो भन्ने पत्तो नभएका कारण डब्लुएचओले भने जस्तै आत्तिई हाल्नु पर्ने अवस्था त छैन । परन्तु, यो नयाँ भेरियन्ट सङ्क्रामक भएकाले पूर्ण रूपमा सचेत हुन र सरकारी निकायबाट भ्याक्सिनेसनको कामलाई तीव्रता दिनुको विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस्