एसपीपी विषयमा छलफल गर्न प्रधानसेनापति शर्मा प्रतिनिधिसभा बैठकमा सहभागी
३ असार, काठमाडौं । नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषयमा छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्मा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी भएका छन् ।
समितिको सचिवालयका अनुसार एसपीपीकै विषयमा प्रधान सेनापतिसहित सरकारी अधिकारीहरुलाई पनि छलफलमा बोलाइएको छ ।
बैठकमा प्रधानसेनापति शर्मासँगै परारष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल र रक्षा सचिव किरणराज शर्मालाई समेत बोलाइएको छ ।
बैठकमा नेपालको परराष्ट्र नीति, प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा हुने अमेरिका भ्रमण, समितिको वार्षिक प्रतिवेदन र विविध विषयमा छलफल हुने एजेन्डा रहेका छन् ।
तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीका लागि अमेरिकालाई पत्राचार गरेका थिए । यो विषय सार्वजनिक भएपछि सरकार र सेनाको आलोचना भइरहेको छ । प्रतिनिधिसभाका सदस्यहरूले यस विषयमा सदनलाई जानकारी गराउनुपर्ने माग गरिरहेका छन् ।
बुधबार मात्रै अमेरिकी दूतावासले एसपीपी सम्बन्धी कुनै सम्झौता पत्रमा हस्ताक्षर गर्नु नपर्ने र यसअघि नै नेपाल यसको अंग भइसकेको बताएको थियो ।
दूतावासले नेपालले सन् २०१५ र २०१७ दुईपटक आवेदन दिएपछि २०१९ मा अमेरिकाले त्यसलाई स्वीकृत गरेको बताएको थियो ।
त्यसको केही घण्टापछि एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले कुनै पनि सैन्य गठबन्धनमा नरहेको र रहने प्रक्रिया नभएको जनाएको थियो ।
तर, त्यसको भोलिपल्ट बिहीबार तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले काठमाडौंस्थित अमेरिकी दूतावासलाई एसपीपीमा सहभागी हुन पत्र लेखेको सार्वजनिक भएको थियो ।
प्रतिक्रिया दिनुहोस्