एमाले महाधिवेशनमा जाँदै देउवासहितका पाँच नेता

९ मंसिर, काठमाडौं । नेकपा एमालेको दसौँ महाधिवेशनमा सहभागी हुन विभिन्न दलका पाँच नेता चितवनमा जाने भएका छन्।

एमाले दिएको निम्तो स्वीकार्दै कांग्रेस सभापति शेरबहादुर देउवासहित पाँच नेता चितवन जाने पक्का भएको हो। प्रधानमन्त्री देउवा शुक्रबार चितवन जाने भएका छन्। 

frontline

देउवासहित सत्तारुढ र प्रतिपक्षी दलका नेताहरु एमालेलाई महाधिवेशन सफलताको शुभकामना दिन जाने भएका हुन्। 

एमालेले यसअघि नै केन्द्रीय कार्यालयको टोली नै पठाएर महाधिवेशन उद्घाटन समारोहमा आतिथ्यका लागि निम्तो दिएको थियो। 

नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनस्थल नारायणी किनारमा बिहीबार पत्रकार सम्मेलन गर्दै आतिथ्य गर्न आउने नेताहरूबारे जानकारी दिएका हुन्। 

उनका अनुसार महाधिवेशन उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिन प्रधानमन्त्री देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि आउने भएका छन्। 

त्यसैगरी पछिल्लो समय एमालेविरुद्ध पाँच दलीय गठबन्धनमा मिसिएका राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी पनि महाधिवेशन उद्घाटनमा सहभागी हुने भएका छन्। 

भट्टराईले महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि निम्तो दिइएको बताए।

‘महाधिवेशन उद्घाटन समारोहमा प्रचण्डजी पनि आउनु होला। यो त उहाँकै निर्वाचन क्षेत्र र जिल्ला पनि हो’, उनले भने, ‘गृहजिल्लामा भएको कार्यक्रममा आएर उहाँले पक्कै पनि हामीलाई शुभेच्छा दिनुहुन्छ भन्ने विश्वास हामीले लिएका छौँ।’

तर प्रचण्डको सचिवालयले भने उनी भोलि अर्कै कार्यक्रममा सहभागी हुन जाने बताएको छ। 

अर्कातिर एमाले अध्यक्ष केपी शर्मा ओलीकै सरकारको पालामा शान्ति प्रक्रियामा आएको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि एमालेको महाधिवेशनमा जानेबारे टुंगो गरिसकेका छैनन्।

‘हामीलाई पनि निम्ता आएको छ। तर बिहीबारसम्म जाने नजाने टुंगो भइसकेको छैन’, उनीनिकट एक नेताले भने, ‘उहाँ आन्तरिक छलफलमा हुनुहुन्छ। भरेसम्म निर्णय हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here