एमाले केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित

सत्तारुढ नेकपा (एमाले) को केन्द्रीय कमिटी दसौं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले अहिलेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गर्ने निर्णय लिएको हो । 

वरिष्ठ नेता झलनाथ खना, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले बहिष्कार गरेको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय लिएको हो । खनाल र नेपालले फागुन २८ गतेको केन्द्रीय कमिटी विस्तार लगायतका फेरबदल परिमार्जन नगरिएसम्म अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा नजाने अडान लिएको छ ।

frontline

‘आजको केन्द्रीय कमिटी बैठकले दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा केन्द्रीय कमिटीलाई रुपान्तरण गर्ने निर्णय लिएको छ । महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेल रहने निर्णय भएको छ,’ एमालेका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

महाधिवेशन आयोजनाका लागि पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूको जिम्मेवारी तय गर्न कार्यदल गठन गरिएको पनि ज्ञवालीले जानकारी दिए ।

२ सय ६४ जना केन्द्रीय सदस्य तथा पदाधिकारीको कार्यविभाजन गर्नका लागि विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । जसमा टोपबहादुर रायमाझी र शंकर पोखरेल सदस्य छन् । कार्यदलले कार्यविभाजनका साथै संगठनलाई व्यवस्थित गर्ने प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको छ ।

त्यस्तै, सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न गर्न सातवटै प्रदेश कमिटीलाई जिम्मेवारी दिइएको पनि ज्ञवालीले जानकारी दिए । पार्टीको सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको जिम्मेवारी दिइएको छ ।

एमालेले २०७८ मंसिरमा दसौं महाधिवेशन गर्ने निर्णय यसअघि नै गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here