एफडीआई भित्रिएकोमध्ये २.१% मात्रै आइटी क्षेत्रमा लगानी
५ असार, काठमाडौं । नेपालको आर्थिक सम्वृद्धिका लागि सूचना प्रविधिको विकासमा लगानी बढाउनुको विकल्प नभएको सरोकारवालाहरुले बताएका छन्।
आइसिटी फाउण्डेसन नेपालले काठमाडौंमा आयोजना गरिरहेको डिजिटल नेपाल कन्क्लेभको विभिन्न सत्रहरुमा बोल्दै उनीहरुले सूचना प्रविधि क्षेत्रमा पर्याप्त अवसर भएपनि अहिलेसम्म लगानी भने कम रहेको बताए।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अबको जमाना सूचना प्रविधिको भएको बताउँदै आर्टिफिसियल इन्टेलिजेन्सको विकासमा ध्यान दिनुपर्ने बताए।
‘२१ औं शताब्दी डेटा क्यापिटलिज्म, इकोनोमीको नयाँ भेन्यु बन्छ। यसलाई प्रयोग गरेर अगाडी बढ्नपर्छ,’ पाण्डेले भने, ‘डेटाको प्रविधिसँग मात्र होइन, यो अर्थतन्त्रको एउटा भेन्यु हो। देशको लागि आम्दानीको स्रोत नै बन्नसक्छ।’
यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले सूचना प्रविधि क्षेत्रमा राम्रो अवसर भएकाले विदेशी तथा स्वदेशी लगानीकर्ता भित्राउन पहलकदमी भइरहेको बताए।
‘नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी भित्राउनलाई हामीले पहलकदमी गरिरहेका छौं। अबको भविष्य नै आइटी क्षेत्र भएकाले सबै मिलेर अघि बढ्नुपर्ने बेला भइसकेको छ,’ भट्टले भने।
उनले सूचना प्रविधिको मात्रै विकास नगरेर अन्य पूर्वाधार पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए। उनले नेपालमा ठूला सूचना प्रविधिमा लगानी ल्याउनका लगानी बोर्डले सहयोग, सहजीकरण, समन्वय र सहकार्य गर्ने बताए।
कार्यक्रममा दिइएको जानकारी अनुसार, नेपालमा सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानीमा पनि अत्यन्तै कम मात्रै भित्रिएको छ।
अहिलेसम्म पाँच हजारभन्दा धेरै कम्पनीले नेपालमा लगानीको प्रतिवद्धता देखाएपनि अहिलेसम्म सूचना प्रविधि क्षेत्रमा दुई सय ११ वटा कम्पनीले सूचना प्रविधि सम्बन्धित क्षेत्रमा लगानी आएको जानकारी गराइएको छ।
कुल वैदेशिक लगानी भित्रिएकोमध्ये २.१ प्रतिशत मात्रै सूचना प्रविधि क्षेत्रमा लगानी आएको र रोजगारी, उत्पादन, लगानी र जनशक्ति उत्पादनको हिसाबले यस क्षेत्रमा नेपालको अवस्था अझै कमजोर रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्