एनआरएनएका ८ खेलाडीले खेल्न नपाउने
२९ असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गैरआवासीय नेपालीहरुको संस्था एनआरएनए स्पोर्टस एकेडेमीले फुटबलमा पनि सहभागिता जनाएको छ ।
एनसीसी युकेको विवादका कारण खास गैर आवासीय खेलाडीहरु नआउँदा उनीहरुको ठाउँमा नेपाली राष्ट्रिय टिममा रहेका खेलाडीहरुलाई समावेश गरेर टिम बनाइएको थियो ।
उनीहरुले पहिलो खेलमा प्रदेश १ सँग प्रतिस्पर्धा गर्दा नतिजा एनआरएनको पक्षमा आएको थियो । उक्त खेलमा एनआरएनएबाट खेलेका विमल घर्तिमगर र संजोक राईले गोल गरेका थिए ।
नेपाली राष्ट्रिय टिमका नियमित खेलाडीहरु नै एनआरएनएबाट खेलेको भन्दै प्रदेश १ लो प्रोटेस्ट हालेको थियो । उक्त प्रकरणपछि राखेपको प्राविधिक समितिले प्रदेश १ विरुद्ध खेलेका एनआरएनएका ८ खेलाडीहरुलाई अब मैदान उत्रन नदिने बताएको छ ।
जस अनुसर अबको खेलमा संजोक राई, विमल घर्तिमगर, अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, विशल राई, इशान खड्का र अशोक खवासले खेल्ने छैनन् ।
यसैगरी प्राविधिक समितिले एनआरएनले जितेको खेलको नतिजा पनि प्रदेश १ को पक्षमा रहेको निर्णय गरेको जनाइएको छ । अब एनआरएनएले बाँकी खेलका लागि टिममा रहेका अरु १२ जना खेलाडीबाट खेलाउनु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्