एक हप्तायता कोरोना संक्रमितको संख्या दोब्बर, अस्पतालमा चाप, जनशक्ति अभाब

२९ पुस, पोखरा । गण्डकी प्रदेश सरकारबाट एकमात्र कोभिड उपचारका लागि तोकिएको सरुवा तथा संक्रामक रोग अस्पतालमा २ हप्ता अघिसम्म एक/दुई जनामात्रै कोभिड संक्रमित उपचाररत थिए । अस्पतालका निर्देशक विकास गौचनलाई लागेको थियो, ‘अब चाँडै यो संख्या पनि घट्ने छ । र, संख्या शून्यमा झर्नेछ ।’

तर, परिस्थिति फरक भइदिएको छ । अहिले उक्त अस्पतालमा फेरि कोभिडका बिरामी दिनानुदिन बढ्न थालेका छन् । निर्देशक गौचनका अनुसार अस्पतालमा बुधबारसम्म शून्यमा पुग्न लागिसकेको संक्रमितको संख्या बढेर ७ जना पुगेको छ ।

frontline

‘अघिल्ला ४ हप्तासम्म संक्रमितको संख्या एकदमै कम थियो । त्यो संख्या पनि शून्यमा झर्छ कि भन्ने लागेको थियो,’ डा. गौचन भन्छन्, ‘तर त्यो संख्या फेरि बढ्न थालेको छ । संख्या सँगै फेरि चुनौती थपिँदैछ ।’

डा. गौचनले भनेजस्तै संक्रामक तथा सरुवा रोग अस्पतालमा मात्रै नभई पछिल्लो एकहप्तायता गण्डकीमै कोरोना संक्रमितको संख्या दोब्बर बढेर गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार एक हप्ताअघि गण्डकी प्रदेशभर १ सय ७२ जनामात्रै सक्रिय संक्रमित थिए । तर, बुधबार साँझसम्म उक्त संख्या दोब्बर बढेर ४ सय ५१ पुगेको छ ।

तथ्यांकअनुसार पछिल्लो एकहप्तामा कोरोना संक्रमणदर बढेको मात्रै छैन । सोही अनुपातमा अस्पतालमा भर्ना हुने गम्भीर बिरामीको संख्या समेत बढेको छ । यसबीचमा एकजना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेशभर सबैभन्दा बढी सक्रिय संक्रमित कास्कीमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कुल संक्रमितमध्ये कास्कीमा मात्रै २ सय ६४ जना सक्रिय संक्रमित छन् । जबकी एकहप्ताअघिसम्म जम्मा १ सय १७ जनामात्रै कास्कीमा सक्रिय संक्रमित थिए ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी कास्की जिल्ला जोखिममा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ । कोरोना संक्रमित शून्य भएर लामो समय गण्डकीका मनाङ र मुस्ताङ ग्रिन जोनमा थिए । तर, बुधबारको तथ्यांकअनुसार मुस्ताङमा समेत ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रामक तथा सरुवा रोग अस्पतालका निर्देशक डा. गौचनका अनुसार पछिल्लो समय गण्डकीमा भएका मेलामहोत्सव, विभिन्न राजनीतिक दलका अधिवेशन, महाधिवेशन लगायत भीडभाडजन्य क्रियाकलापका अनुसार कोरोना उकालो लागेको हो ।

‘कोरोना केही कम भएपछि हामीले जनस्वास्थ्य मापदण्ड अलि छिटो बिर्स्यौंकी भन्ने पनि हो । स्वास्थ्यका मापदण्ड नै पालना गर्न छोड्यौं,’ डा. गौचन भन्छन्, ‘यहीबेला भेला, मेलामहोत्सव, सभा सम्मेलन भए । गण्डकीमा फेरि कोरोना फैलिनुमा प्रमुख कारण यिनै हुन् ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कुल सक्रिय संक्रमितमध्ये अहिले २५ जना अस्पतालमा उपचाररत छन् । जसमध्ये हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) बेडमा मात्रै १२ जना संक्रमितले उपचार गराइरहेका छन् । त्यस्तै, बुधबारसम्म आइसियू बेडमा ४ जना र र भेन्टिलेटरमा २ जना विरामी उपचाररत छन् ।

‘स्रोत साधन छ, जनशक्ति छैनन्’

कोरोना उपचारका लागि गण्डकी प्रदेशभरमै कास्कीका सरकारी अस्पताल तुलनात्मक रुपले स्रोत र सुविधायुक्त छन् । कास्कीमा मात्रै अहिले ४ वटा सरकारी अस्पतालले कोरोना उपचार गरिरहेका छन् ।

कास्कीका सरुवा तथा संक्रामक रोग अस्पताल, गण्डकी अस्पताल, शिशुवा अस्पताल र मातृशिशु अस्पताल गरी चार वटै अस्पतालबाट अहिले पनि एकैचोटि २ सय १० जनाभन्दा बढी बिरामीलाई उपचार गर्न सक्छन् । त्यसबाहेक कास्कीमा निजी अस्पतालले पनि कोरोना संक्रमितलाई उपचार गर्दै आइरहेका छन् ।

कोरोना महामारीको दोस्रो लहर चरम अवस्थामा पुग्दा कास्कीमा समेत संक्रमितले बेड पाउन मुस्किल परेको थियो भने गण्डकी अस्पतालमा अक्सिजनको अभावले एकै रातमा ८ जनाको मृत्यु भएको थियो ।

तर, अहिले संक्रमितको उपचारका लागि प्रदेशमा स्वास्थ्य सामग्री र अक्सिजनको अभाव नहुने डा. गौचनले दावी गरे । गण्डकी अघिल्ला २ चरणको महामारीभन्दा स्रोत र साधनमा केही मजबुत बनेपनि जनशक्ति अभावको समस्या भने उस्तै रहेको बताए ।

‘हामीसँग स्रोत र साधन छ । तर, अहिलेको गण्डकीको मुख्य चुनौती भनेकै जनशक्तिको हो । महामारी फेरि बढ्दै गए जटिल बिरामीले सजिलै उपचार पाउने चुनौती छ,’ डा. गौचन भन्छन्, ‘अहिले करार भर्नाले अघि बढाइरहेका छौं । पुरानो दरबन्दी छ, त्यसले सेवामा प्रभाव पार्ने हो कि भन्ने हो ।’

अन्योलै अन्योलमा प्रदेश !

पछिल्लो एकहप्तादेखि पुनः कोरोना संक्रमणदर उकालो लाग्न थालेपछि गण्डकी प्रदेशले नाकामा कडाइ थालेको छ । प्रहरीको सहयोगमा अहिले एन्टिजेन परीक्षणलाई ‘व्यापक’ बनाइएको प्रदेश स्वास्थ्य निर्देशनालयको भनाइ छ ।

त्यसबाहेक पहिलो र दोस्रो लहरको कोरोना संक्रमणबाट पाठ सिकेर तेस्रो लहरको सामना गर्ने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्का बताउँछन् । उनी भन्छन्, ‘अघिल्ला २ लहरका हामीसँग अनुभव छन् । त्यही अनुभवका आधारमा तेस्रो लहरको सामना गर्ने हो ।’

तर, अघिल्लो लहरबाट ‘पाठ सिक्ने’ बताइरहँदा सुस्ताइसकेका आइसोलेसन र स्रोतसाधन कसरी ब्युँताउने निर्देशनालय अझै अन्योलमै छ । ‘नाकामा होल्डिङ सेन्टर छैन । कोरोनाको तेस्रो लहरलाई रोक्न स्वास्थ्य मापदण्डलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौं । नाकामै कडाइ गरेर लक्षण देखिएकालाई आइसोलेसनमा राख्ने भनेका छौं,’ खड्का स्वीकार्छन्, ‘तर, त्यहाँ पनि कति दिन राख्ने, कतिजनासम्म राख्ने भन्ने नै अन्योल छ ।’

ओमिक्रोन प्रभावित छिमेकी देश भारतसँग सीमाना जोडिएको एकमात्र नाका नवलपुरको त्रिवेणी नाकाबाट भने प्रदेशलाई ‘खतरा’ नभएको खड्काको जिकिर छ । मानवीय आउजाउ न्यून हुने भएकाले उक्त नाकाभन्दा प्रदेशसँग जोडिएका अन्य नाकालाई नै महत्व दिएर अघि बढिरहेको उनको भनाइ छ ।

‘त्रिवेणी नाकाबाट हामीलाई धेरै खतरा छैन । त्यो नाका आउजाउका लागि खासै प्रयोगमा पनि नआउँदो रहेछ,’ खड्का भन्छन्, ‘बरु हामीले प्रदेशसँग जोडिएका आँबुखैरेनी र राम्दी नाकामा कडाइ गर्ने भनेका छौं । बरु त्यहाँ धेरै पोजेटिभ देखिए के गर्ने भन्ने चुनौती छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here