उर्लाबारी शौरभ होटलको बरण्डामा भेटियो पुरुषको शव

९ असार, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–६ पूर्व बस स्टेन्डनजिक सञ्चालनमा रहेको एउटा होटलको बरण्डामा बिहीबार बिहान पुरुषको शव भेटिएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार आफूलाई रामकुमार माझी बताउने अन्दाजी ३७ वर्षीय पुरुष शौरभ होटलको बरण्डामा मृत फेला परेका हुन् । 

frontline

मृतकको ठेगाना खुल्न बाँकी रहेको जानकारी दिँदै प्रहरीले उनी भारतीय नागरिक भएको हुनसक्ने अनुमान गरेको छ । 

मृतक उर्लाबारी आसपासमा काम गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बुधबार राति होटलको बरण्डामै सुतेका उनको मृत्यु भएको अवस्थामा भोलिपल्ट बिहान ५:४० बजेतिर शव भेटिएको डीएसपी श्रेष्ठको भनाइ छ । पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । 

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेपनि मृत्युको कारण खुल्न सकिरहेको छैन । अत्यधिक मादक पदार्थ सेवन (मापसे) गरेका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

मृतकको ठेगाना खुल्न बाँकी रहेको र आफन्त पनि पत्ता नलागेकाले खोजी थालिएको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि उर्लाबारीकै मंगलबारे अस्पताल लैजाने तयारी प्रहरीले गरेको छ ।   

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here