उद्योग वाणिज्य महासंघको निर्वाचन आज
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा तथा नयाँ कार्यकारिणी समितिको निर्वाचन काठमाडौंमा सुरु भएको छ।
उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९–३० गते तय भएको कार्यक्रम स्थगित भएपछि साधारणसभाका लागि नयाँ मिति तय गरिएको थियो। ललितपुरमा सोमबार उद्घाटन सत्र भएको थियो।
महासंघको नयाँ कार्यसमितिको निर्वाचन मंगलबार हुँदैछ। महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ। महासंघको २०८१ को संशोधित विधानअनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष मतदान हुने छैन। वरिष्ठ उपाध्यक्ष निर्वाचित कार्यसमितिबाट चयन गरिनेछ। अहिले उपाध्यक्ष र कार्यसमिति सदस्यमा मात्र निर्वाचन हुनेछ। यसैअनुसार यसपटक वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले भावी अध्यक्षका रूपमा महासंघको नेतृत्व गर्ने भएका छन्। बाँकी ४ उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुनेछ।
मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा महासंघको ७३ पदाधिकारीका लागि १ सय ३७ व्यवसायीबीच निर्वाचन हुँदैछ। महासंघमा जिल्ला÷नगर, वस्तुगत र एसोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ।
महासंघका भावी अध्यक्ष तथा वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आगामी तीन वर्षे कार्यकालमा उद्यमीहरूको हित, मनोबल वृद्धि र आर्थिक विस्तारमा केन्द्रित हुने बताए। श्रेष्ठले महासंघ नेतृत्वमा रहेर पाँच कामलाई मुख्य प्राथमिकतामा राख्ने जनाए।
उनको पहिलो काममा निजी क्षेत्र र सरकारबीचको सम्बन्धलाई पुनः परिभाषित गरिने जनाइएको छ। दोस्रोमा निजी क्षेत्रप्रतिको सामाजिक धारणा परिवर्तन गर्न अभियान सञ्चालन गरिनेछ। निजी सम्पत्ति, व्यावसायिक हक तथा लगानीको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी पैरवी गरिने उनको तेस्रो काममा रहेको छ। त्यसैगरी, चौथोमा नेपालमा निजी लगानी अभिवृद्धि गर्न ठोस पहल गरिने भन्ने छ भने जिल्ला, नगर, वस्तुगत तथा क्षेत्रगत उद्योग वाणिज्य संघहरूको क्षमता र प्रभावकारिता अभिवृद्धि गरिने उनको पाँचौं काममा परेको छ।
उनले निजी क्षेत्रलाई ‘सरकारको सहयात्री र साझेदार’ भन्दै अर्थतन्त्रको करिब ८२ प्रतिशत र रोजगारीको ८६ प्रतिशत योगदान निजी क्षेत्रबाट भइरहेको उल्लेख गरे।






प्रतिक्रिया दिनुहोस्