ईन्जिनियरिङका विद्यार्थीलाई खोप लगाउन सुरु

बिहीबार, काठमाडौँ । ईन्जिनियरिङका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत ईन्जिनियरिङ अध्ययन संस्थान आइओई पुल्चोकका विद्यार्थीलाई बुधबार कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।

frontline

नेपालमा पहिलो पटक विद्यार्थीलाई पुल्चोक ईन्जिनयिरिङ क्याम्पसले खोप उपलब्ध गराएको आइओई सहायक डिन प्रा.डा सुशील वज्राचार्यले बताए ।

‘हामीले आज क्याम्पसस्तरमा पहिलो पटक कोरोना खोपको उद्घाटन गर्यौँ’ उनले भने, ‘पहिलो चरणमा ईन्जिनियरिङका विद्यार्थीलाई खोप उपलब्ध गराइएको छ ।

पुल्चोक क्याम्पसका विद्यार्थीले खोप लगाएका छन् । अधिकांश विद्यार्थीहरु उपत्यका बाहिर भएकोले अपेक्षाभन्दा कमले मात्र खोप लगाउन पाएका छन् ।’

क्याम्पसमा आयोजित खोप कार्यक्रम बिहान १० बजेदेखि सुरु भई अपरान्ह ३ बजेसम्म सञ्चालन हुनेछ । खोपको पहिलो दिन करिब ७ सय विद्यार्थीले खोप लगाएका छन् । 

आइओई पुल्चोकका विद्यार्थीलाई पहिलो पटक कोभिसील्ड एस्टाजेनिका खोप लगाइएको पुल्चोक क्याम्पस प्रमुख इन्द्र आचार्यले जानकारी दिए ।

पुल्चोक क्याम्पसका विद्यार्थीलाई लक्षित गरी कोरोना खोप लगाएका छौँ’ उनले भने, ‘अहिलेसम्म करिब ७ सय ३० विद्यार्थीले खोप लगाएका छन् ।

हामीले आज १ हजार विद्यार्थीको लागि खोप उपलब्ध गराउने लक्ष्य राखेका छौँ ।’

खोप नलगाएका पुल्चोक क्याम्पसका विद्यार्थी, शिक्षक र कर्मचारीहरुले आज खोप लगाएका छन्  ।

आइओई पुल्चोकको अनुरोधमा ललितपुर महानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र आइओई पुल्चोकको संयुक्त सहकार्यमा विद्यार्थीलाई खोप उपलब्ध गराइएको हो । 

‘विभिन्न खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाए पनि नेपालमा क्याम्पसले खोप उपलब्ध गराएको यो पहिलो पटक हो’ क्याम्पस प्रमुख आचार्यले भने, ‘विद्यार्थी परिचय पत्रको आधारमा विद्यार्थीलाई खोप उपलब्ध गराइएको छ ।

दोस्रो चरणको खोप भने करिब ८ हप्तापछि लगाउने योजना छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here