इन्डोनेसियाको जाभामा माउन्ट सेमेरु नामक ज्वालामुखी विस्फोट, हजारौँलाई गराइयो सतर्क

१९ मंसिर, जाकार्ता । इन्डोनेसियाको जाभामा माउन्ट सेमेरु नामक ज्वालामुखी विस्फोटपछि हजारौँ मानिसलाई सतर्क गराइएको छ । 

टापुको सबैभन्दा अग्लो ज्वालामुखी विस्फोट भएपछि इन्डोनेसियाको पूर्वी जाभाका हजारौँ बासिन्दाहरूलाई सोमबार सरकारले उच्च सतर्क गराएको हो । अधिकारीहरुले ८ किलोमिटर नो–गो जोन (जान बन्देज लगाएको क्षेत्र) लागु गर्न र सम्पूर्ण गाउँहरू खाली गर्न लगाएका छन् ।

frontline

प्रान्तीय खोज र उद्धार एजेन्सीले क्षतिको आकलन गर्न माउन्ट सेमेरु नजिकैको सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा टोलीहरू खटाएको छ । “कम वर्षाले केही राहत दिएको छ,” बसर्नासका प्रवक्ता थोलिब भातेलेहानले बेलायती समाचार एजेन्सी रोयटर्सलाई बताए ।

“हिजो पानी परेकोले हिमालको चुचुरोबाट सबै सामग्री तल झरेको थियो । तर, आज अहिलेसम्म पानी परेको छैन, त्यसैले तुलनात्मक रूपमा सुरक्षित छ,” उनले थपे ।

ज्वालामुखी विस्फोटपछि मानिसहरुको कुनै हताहतको रिपोर्ट नआएको र हवाई यात्रामा तत्काल कुनै अवरोध नपुगेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।
 
तीन हजार ६७६ मिटर अग्लो ज्वालामुखी आइतबार स्थानीय समयअनुसार २.४६ बजे विस्फोट भएको थियो ।

गत वर्ष सेमेरु विस्फोट हुँदा ५० भन्दा बढी मानिसको मृत्यु हुनुका साथै हजारौँ विस्थापित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here