‘इन्गेजमेन्ट’पछि विवाह रद्द हुँदा युवतीले केटाकै घरमा पुगेर गरिन ‘आत्मदाह’

सान्केतिक तस्बिर

२० मंसिर, काठमाडौं । काठमाडौंमा ‘इन्गेजमेन्ट’पछि विवाह रद्द हुँदा एक युवतीले केटाकै घरमा पुगेर ‘आत्मदाह’ गरेकी छन् ।

गत आइतबार साँझ बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगी आफ्नो शरीरमा पेट्रोलियम पदार्थ छर्किएर आगो लगाएको प्रहरीले जानकारी दिएको छ ।

frontline

तर केटी पक्षकाले भने आगो लगाएको हो कि लगाइएको हो भन्नेबारेमा अनुसन्धान गरिनुपर्ने माग गरेको छ ।

शरीरमा आगो लगाएपछि घाइते अवस्थामा रहेकी पुष्पाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा सोमबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

पुष्पाका आफन्तका अनुसार प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराहीमा बस्दै आएका सुधन संग्रौलाबीच गत भदौ १८ गते इन्गेजमेन्ट भएको थियो । दुवै परिवारको सहमतिमा ‘जनै सुपारी’ आदान प्रदान भएको थियो ।

दसैंपछि सुधनले पुष्पालाई प्रेम सम्बन्ध समाप्त पार्ने प्रस्ताव गरेका थिए । 

आपसी सहमतिमा फेरि दुई परिवारबीच कुराकानी मिलेको र विवाह गर्ने सहमति भएको पुष्पाका आफन्तले बताए ।

फेरि सुधनको परिवारले पुष्पालाई मानसिक तनाव दिएपछि दुई परिवार बसेर ‘इन्गेजमेन्ट’ तोड्ने सहमति गरेका थिए ।

तर शनिबार राति सुधनका बुबाले पुष्पालाई फोन गरेको पुष्पाका परिवारका सदस्यहरुको दाबी छ  ।

पुष्पाका एक आफन्तले भने,“आइतबार दिउँसो उनी ३ बजे घरबाट पार्टीको लुगा ल्याउने भनेर निस्कएकी थिइन् । यो बीचमा हामीले उनको मोबाइलमा फोन गर्दा कुनै बेला व्यस्त देखाउँथ्यो भने कुनै बेला सम्पर्क हुन सकेन भन्थ्यो । सोही क्रममा ७ बजे सुधनको परिवारबाट हामीलाई हाम्रो घरबाहिर कसैले शरीरमा आगो लगाएजस्तो छ पुष्पाजस्तै छन् भनेर खबर गरेका थिए ।”

सुधनकै परिवारले प्रहरीलाई खबर उनीहरुले पुष्पा जलिरहँदा उद्धार नगरको पीडित परिवारजनको आरोप छ । उनलाई प्रहरीले नै पुगेर अस्पताल लगेको थियो ।

पुष्पाका परिवारले मानसिक तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

सोही उजुरीका आधारमा पीडक सुधन संग्रौलालाई प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीद्वारा नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको परिसर काठमाडौंका एसपी मैनालीले बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here