आन्दोलनमा सहभागी शिक्षकहरूको अनियमित सरूवा, प्रधानाध्यापकहरूको जिम्मेवारी हेरफेर

 समाचार सारांश

  • शिक्षक महासङ्घको आन्दोलनमा सहभागी शिक्षकहरूमाथि विभिन्न जिल्लामा प्रतिशोध साधिएको छ र सरुवा गरिएको छ।
  • सप्तरी, सर्लाही, धादिङ, सिन्धुपाल्चोक र सोलुखुम्बुमा शिक्षकहरूको सरुवा र प्रधानाध्यापकको जिम्मेवारी हेरफेर गरिएको छ।
  • शिक्षक सङ्गठनले यस कार्यको विरोध गर्दै विज्ञप्ति जारी गरी पूर्वाग्रह र ट्रेड युनियनलाई कमजोर पार्ने उद्देश्यको आरोप लगाएको छ।
  • सङ्गठनले सम्बन्धित निकायलाई यस्ता कार्य रोक्न र शिक्षकहरूको मनोबल कमजोर नपार्न आग्रह गरेको छ, साथै सहकार्यको आह्वान गरेको छ।

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले थालेको आन्दोलनमा सहभागी शिक्षकहरूमाथि प्रतिशोध साध्न थालिएको छ । विभिन्न जिल्लाहरूमा काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी भएका शिक्षकहरूमाथि प्रतिशोध साध्दै उनीहरूको अनियमित सरुवा गर्न थालिएको छ । 

त्यस्तै आन्दोलनमा सहभागी शिक्षकहरूको अन्यायपूर्ण रूपमा जिम्मेवारी समेत हेरफेर गर्न थालिएको छ । सप्तरीको सुरुङ्गा नगरपालिकाका १४ जना शिक्षकहरूको सरुवा गरिएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव हंसबहादुर शाहीले जानकारी दिए । त्यस्तै प्रधानाध्यापकहरूको जिम्मेवारी हेरफेर गरिएको छ । 

frontline

त्यस्तै सर्लाहीको मलङ्गवा नगरपालिकाका ४५ जना शिक्षकहरूको सरुवा गरिएको महासचिव शाहीले बताए । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका ५५ जना शिक्षक, गजुरी गाउँपालिकाका २४ जना शिक्षकहरूको सरुवा गरिएको महासचिव शाहीले बताए । 

त्यस्तै सिन्धुपाल्चोकको जुगल गाउँपालिका पनि यस्तै किसिमका अवाञ्छित कार्यहरू भइरहेको उनको भनाई छ । सोलुखुम्बुमा विगत वर्षहरूदेखि नै व्यापक रूपमा सरुवा गरिएकोमा आन्दोलनबाट फर्केका सोलु दुधकुण्ड पालिकाका २० जना शिक्षकहरूको सरुवा गरिएको बताए । 

त्यस्तै प्रधानाध्यापकको समेत घटुवा गरी अन्यत्र पठाएको सूचना प्राप्त भएको उनको भनाई छ । आन्दोलनमा सहभागी शिक्षकहरूको सरुवा गर्ने, प्रधानाध्यापकहरूलाई जिम्मेवारीमुक्त गरिदिने कार्य बढेको भन्दै सङ्गठनले आपत्ति जनाएको छ । 

महासचिव शाहीले एक विज्ञप्ति जारी गर्दै महासङ्घद्वारा घोषित कार्यक्रममा सहभागी शिक्षकहरुमाथि पूर्वाग्रह साँध्ने हिसाबले भइरहेको अनियमित सरुवा र प्रधानाध्यापकहरू (प्र.अ.) को अन्यायपूर्ण हेरफेर प्रति आपत्ति जनाए । 

यी कार्यहरू पूर्वाग्रह प्रेरित, शिक्षकहरूको ट्रेड युनियनलाई कमजोर पार्ने उद्देश्यसहित गरिएको सङ्गठनको ठहर छ । यसले शिक्षक समुदायमा मानसिक त्रास सिर्जना गर्नुका साथै शिक्षण–सिकाई वातावरणमा प्रतिकूल असर पारिरहेको महासचिव शाहीले बताए । 

सङ्गठन सम्बन्धित निकायहरूसँग यस्ता कार्य नगर्न अनुरोध गरेको छ । अराजक र असंवैधानिक कार्यहरू तत्काल खारेज गरी पूर्वावस्थामा बहाल गर्न तथा शिक्षकहरूको मनोबल कमजोर पार्ने कार्य नगर्न नगराउन सबै पालिकाहरूलाई आग्रह गरे । 

शिक्षा क्षेत्रको स्थायित्व, सम्मान र गुणस्तर कायम राख्न शिक्षक सङ्गठनहरूसँग सहकार्य गरेर अघि बढ्न समेत अनुरोध गरेको छ ।

महासङ्घ, सरोकारवाला निकाय, स्थानीय तह, प्रदेश र सङ्घ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै शिक्षकहरूको ट्रेड युनियन आन्दोलनको मनोभावना विपरीत कुनै पनि गतिविधि नगर्न र नगराउन समेत सचेत गराए ।

#शिक्षक आन्दोलन #शिक्षक सरुवा

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here