आन्तरिक माग धान्न पुन: भारतबाट बिजुली आयात

२१ मंसिर, काठमाडौं । नेपालको आन्तरिक माग धान्न भारतबाट ६ महिनापछि बिजुली आयात थालिएको छ ।

२१ असारमा माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित ४५६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएपछि भारतबाट आयात रोकिएको थियो ।

frontline

त्यसको ठ्याक्कै ६ महिनापछि हिजो सोमबार (मङ्सिर २०) मा भारतसँग नेपाल विद्युत् प्राधिकरणले माग धान्न १८० मेगावाट बिजुली किनेको हो ।

विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले सुख्खायाम लागेसँगै नेपालको उत्पादन खुम्चिएपछि भारतबाट बिजुली आयात पुनः थालिएको बताए ।

आन्तरिक माग धान्न नेपालबाट हुने निर्यात घटाएर उतैबाट बिजुली किनिएको उनले जानकारी दिए ।

कात्तिक १७ गतेदेखि भारततर्फ दैनिक ३९ मेगावाट बिजुली बेच्दै आएको प्राधिकरणले हिजो (सोमबार) निर्यात घटाएर १७ मेगावाट मात्रै पठाएको थियो ।

नेपालका अधिकांश जलविद्युत आयोजनाहरू नदी बहाउ (रन अफ द रिभर–आरओर) प्रकृतिका छन् । बर्खा यामपछि र हिउँद याममा हिउँ नपग्लिउञ्जेल नदीहरूमा पानी कम हुने हुनाले यी प्रकृतिका आयोजनाबाट विद्युत् उत्पादन क्षमता पनि स्वतः घट्छ । 

नेपालका नदीहरू वर्षायाममा उच्च बहाउमा बहने गर्छन् । वर्षायाममा आकाशे पानी निकै पर्ने भएकाले सोही पानी बगेर नदीको बहाउ बढ्ने गर्छ । सुख्खायाम लागेपछि वर्षा कम हुँदा नदीमा पानीको मात्रा पनि निकै घट्छ ।

सुख्खायाममा नदीको बहाउ हिमालको हिउँमा आधारित हुन्छ र कम बहाउ भएको समयमा उत्पादन क्षमता स्वाट्टै घट्छ ।

हाल सञ्चालनमा रहेका आयोजनामध्ये माथिल्लो तामाकोशी सबैभन्दा ठूलो हो । यो आयोजनाको क्षमता ४५६ मेगावाट हो । तर, सुख्खायाममा उत्पादन क्षमता घटेर ९० मेगावाटमा आइपुग्छ ।

यस्तै, १४४ मेगावाट क्षमताको कालिगण्डकी जलविद्युत आयोजनाको उत्पादन क्षमता पनि खुम्चिएर ४७ मेगावाटमा झर्छ ।

अहिले सञ्चालनमा रहेका आयोजनामध्ये कुलेखानी मात्रै जलाशययुक्त आयोजना हो । यो आयोजनाबाट मात्रै पानी सञ्चय गरेर आवश्यक परेको समयमा बिजुली उत्पादन गर्न सकिन्छ । यो बाहेक अन्य सबै जलविद्युत आयोजना नदी बहाउमा आधारित हुन् ।

‘वर्षायाममा पर्याप्त पानी पर्ने भएकाले नदीहरूको बहाउ बढ्छ र पूर्ण क्षमतामा बिजुली उत्पादन हुन्छ,’ भट्टराईले भने, ‘सुख्खायाममा बहाउ घट्छ र उत्पादन पनि खुम्चिन्छ ।’

उनले हिजोबाट नेपालको उत्पादन घट्न थालेकाले आन्तरिक माग धान्नकै लागि आयात गर्नुपरेको बताए । यस्तै, भोलि (बुधबार)देखि नेपालले भारततर्फको निर्यात पूर्ण रूपमा रोक्नेछ ।

असार २१ गतेदेखि राष्ट्रिय प्रसारणलाइनमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन जोडिएपछि उत्पादन क्षमता १९ सय मेगावाटसम्म पुगेको थियो ।

सुख्खायाम लागेसँगै उत्पादन खुम्चिएर हिजो (सोमबार) नेपालको कूल उत्पादन १४ सय ३० मेगावाटमा झरिसकेको छ । जसमा प्राधिकरणको ५३३ मेगावाट, प्राधिकरणको सहायक कम्पनीको ४६० मेगावाट र निजी क्षेत्रको उत्पादन ४३७ मेगावाट छ ।

तर, हिजो बिजुलीको ‘पिक डिमाण्ड’ माग १५ सय ११ मेगावाटसम्म पुगेको थियो । यो मागअनुसार नेपालको उत्पादन नभएकाले भारतबाट बिजुली किन्न परेको भट्टराईले बताए । 

उनले भने, ‘हिजो नेपालको इनर्जी माग २७ हजार ५५ मेगावाट प्रतिघन्टा थियो । जुन गत वर्षको यही समयमा भन्दा ६० हजार मेगावाट प्रतिघन्टा बढी हो ।


प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here