आज विश्व जनसङ्ख्या दिवस, विश्वको जनसङ्ख्या आठ अर्ब नजिक
२७ असार, काठमाडौं । आज विश्वको जनसङ्ख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । सन् १९८९ देखि संयुक्त राष्ट्र सङ्घले ११ जुलाईलाई विश्व जनसङ्ख्या दिवसका रूपमा मनाउन थालेको हो ।
नेपालमा पनि सोही वर्षदेखि मनाइँदै आएको छ । यस वर्षको विश्व जनसङ्ख्या दिवसको नारा ‘आठ अर्ब जनसङ्ख्या सबैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्ज्वल भविष्यका लागि अवसरको प्राप्ति’ रहेको छ ।
अहिले विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोडभन्दा बढी छ । अर्थात विश्वको जनसङ्ख्या आठ अर्ब नजिक पुगेको छ । चार महिनापछि विश्व जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ ।
विश्व जनसङ्ख्या दिवसका अवसरमा आइतबार संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले आगामी कात्तिक २९ गते (नोभेम्बर १५) मा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने तथ्य सार्वजनिक गरेको हो । सन् १९८७ जुलाई ११ मा विश्वको जनसङ्ख्या करिब पाँच अर्ब थियो ।
विश्व जनसङ्ख्या कोषले सोमबार सार्वजनिक गरेको ‘वल्र्ड पपुलेसन प्रोस्पेक्टस २०२२’ अनुसार विश्वको जनसङ्ख्या सन् २०८० को दशकमा करिब १०.४ अर्बसहित उच्च बिन्दुमा पुग्नेछ र सन् २१०० सम्म त्यही स्तरमा रहनेछ ।
औसत आयुमा भएको वृद्धि तथा घट्दै गएको शिशु तथा मातृ मृत्युदरका कारण जनसङ्ख्या पहिलेभन्दा धेरै भएको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्