आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने

७ चैत, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ ।
पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ ।




राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुने लागेका छन् ।
गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।
परीक्षाका लागि २०७९ परीक्षा केन्द्र तोकिएको छ । १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ ।
परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ ।
यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
जापानबाट ३७ जनाले एसईई दिंदै
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपपटक पनि जापानबाट ३७ जना परीक्षार्थी सहभागी हुँदै छन् ।
निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार जापानमा रहेका विद्यार्थीका लागि नेपालबाटै प्रश्नपत्र र उत्तरपुस्तिका पठाइएको छ । उत्तरपुस्तिका नेपालमै झिकाएर परीक्षण गरी नतिजा निकालिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरुले परीक्षा दिन लागेका हुन् ।
जापानको टोकियो रहेको एभरेस्ट इन्टरनेसनल स्कुलमा नेपाली कोर्स पढाइ हुन्छ । नेपाली पाठ्यक्रम अनुसार नै नेपाली भाषा, नेपाली पाठ्यपुस्तक, नेपाली संस्कृति पढाइ हुन्छ ।
रोजगार र अध्ययनको सिलसिलामा जापान पुगेका नेपालीहरूले सन् २०१३ मा टोकियो सहरमा नेपाली विद्यालय खोल्ने निर्णय गरेका हुन् ।
जापानस्थित नेपाली दूतावासको पहलमा विद्यालय खोलिएको हो । उक्त विद्यालयमा १० कक्षासम्म नेपालबाट नै सम्बन्धन लिएर सञ्चालन गरिएको छ ।
त्यहाँ कक्षा १० को नेपाली पाठ्यक्रम विदेशी विद्यार्थीहरूले पनि पढ्ने गरेका छन् ।
एसईई |माध्यामिक शिक्षा परीक्षा
प्रतिक्रिया दिनुहोस्