आखिर कहाँ गए अफगानिस्तान छाडेर असरफ गनी ?

सोमबार, अफगानिस्तान । अफगानिस्तान सम्पूर्णरुपमा तालिबानको नियन्त्रणनजिक पुगेको छ । राष्ट्रपति असरफ गनी देश छाडेर भागिसकेका छन् । उनीसँगै उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडिसकेको मिडिया रिपोर्टहरूमा उल्लेख छ ।

तालिबान लडाकुहरू काबुलतर्फ बढ्न थालेपछि राष्ट्रपति गनी भागेको अधिकारीहरूले पत्रकारलाई जानकारी दिएका थिए । सुरुवाती रिपोर्टमा गनी भागेर ताजिकिस्तान पुगेको उल्लेख गरिएको थियो । तर, अलजजिराको रिपोर्टमा गनी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्वेकिस्तान राजधानी ताशकंद पुगेका छन् । राष्ट्रपतिका व्यक्तिगत बडिगार्डको हवाला दिँदै सो कुरा बताइएको छ । तर, सरकारले यसको पुष्टि गरेको छैन ।
उता, एक फेसबुक पोस्टमा अफगान नागरिकलाई सम्बोधन गर्दै गनीले राजधानी छाड्ने कठिन फैसला आफूले रक्तपात रोक्नका लागि लिएको बताएका छन् । आफू काबुलमा नै रहेको भए तालिबान काबुल प्रवेश गरेपछि झडप हुने र त्यसमा लाखौँ जनताको ज्यान जोखिममा हुने उनले तर्क राखेका छन् ।

frontline

उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘आज मैले एउटा कठिन फैसला लिनुपर्ने थियो कि राष्ट्रपति भवन प्रवेश गर्न चाहने सशस्त्र तालिबानको अगाडि खडा रहुँ या त मेरो प्यारो देश जसको सुरक्षाका लागि मैले आफ्नो २० वर्ष बिताएँ त्यसलाई छाडेर जाऊँ ।

यदि यो दौरान अनगिन्ती मानिस मारिने थिए र हामीले काबुल सहरको तबाही देख्नुपर्थ्यो भने ६० लाख आबादी भएको सहरमा ठूलो मानवीय त्रासदी हुने थियो ।’

उनले तालिबानले तरबार र बन्दुकको बलमा जित हासिल गरेको बताउँदै अब देश र जनताको जनधन र इज्जतको रक्षाको जिम्मा तालिबानको भएको जिकिर गरेका छन् ।

‘तर उनीहरूले मानिसको हृदय जित्न सक्दैनन् । इतिहासमा कहिले पनि कसैले मात्र ताकतको भरमा यो हासिल गर्न सकेका छैनन् । अब उनीहरूले ऐतिहासिक परीक्षा सामना गर्नुपर्छ – या त अफगानिस्तानको नाम र इज्जत बचाउँछन् या अन्य क्षेत्र र नेटवर्क,’ गनीले भनेका छन् ।

तालिबानसँग छलफल गर्नका लागि गठन गरिएको हाई काउन्सिल फर नेशनल रिकन्सिलिएनका अध्यक्ष अब्दुल्ला अब्दुल्लाले फेसबुकमा एक भिडियो जारी गर्दै गनीलाई ‘पूर्व राष्ट्रपति’ बताएका छन् । ‘उनले राष्ट्रलाई यस्तो स्थितिमा छाडेर गएका छन्, भगवानले उनलाई जिम्मेवार ठहराउनेछ र राष्ट्रले पनि न्याय गर्नेछ ।’

गनी दुई पटक अफगानिस्तानको राष्ट्रपति चुनिएका थिए । पहिलोपटक सन् २०१४ र दोस्रोपटक २०१९ मा । उनी देशको चर्चित शिक्षाविद् र रणनीतिकार मानिन्छन् । उनले आफ्नो करियरको लामो समय अफगानिस्तान बाहिर बिताए तर लामो युद्धपछि थिलथिलो बनेको देशको पुनर्निर्माणका लागि उनी फर्किएका थिए । राष्ट्रपति पद सम्हाल्दै गर्दा उनलाई इमानदार व्यक्तित्वको रूपमा हेरिएको थियो । तर, तालिबानले भने उनलाई जहिले पनि अमेरिकाको कठपुतली बताउँदै आएको थियो । 
बीबीसी 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here