आईसीसी विश्वकप क्रिकेट : नेपालमाथि ओमानको रोमाञ्चक जित
२७ जेठ, काठमाडौं । आरिफ शेखले संयमित अर्धशतक बनाए पनि नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ क्रिकेटमा ओमानसँग १३ रनले पराजित भएको छ । २ सय १२ रनको लक्ष्य लिएर आएको नेपाल ४९.४ ओभरमा १ सय ९८ रनमै अलआउट भयो ।
नेपाललाई अन्तिम ओभरमा विजयका लागि १४ रन चाहिन्थ्यो । तर मोसा क्रिकेट मैदानमा पहिलो तीन बलमा कुनै रन बनाउन नसकेका आरिफलाई बिलाल खानले एलबीडब्लु आउट गरी नाटकीय खेलमा ओमानलाई विजय दिलाए ।
उनै आरिफको ६९ रनमा नेपालले खेल अन्तिम ओभरसम्म लम्बाएको थियो । आरिफको एकदिवसीय अन्तर्राष्ट्रियमा यो उच्च स्कोर पनि हो । उनले ७९ बल खेली ६ चौका प्रहार गरी ६६ रन बनाए ।
सुवास खकुरेल ३, सुनिल धमला १२, देव खनाल ३४, रोहित पौडेल २०, दीपेन्द्रसिंह ऐरी १६, विनोद भण्डारी १४, करण केसी ८, सोमपाल कामी १३ र कप्तान सन्दीप लामिछाने २ रनमा आउट भएका थिए । ओमानका कप्तान जेशन मक्सुद पूरै छाए । उनले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । उनकै उत्कृष्ट क्याचमा दीपेन्द्र पेभेलियन फर्किएका थिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको ओमानलाई नेपालले २११–८ को स्कोरमा रोकेको थियो । कप्तान मक्सुदले अविजित १ सय ४ रन बनाउदै ओमानको इनिङ्स उकासेका थिए । ओमान २५ ओभरमा ८६–५ को स्थितिमा पुगेको थियो । मक्सुदले धैर्यपूर्वक खेल्दै १ सय २६ बलमा १२ चौका प्रहार गरे ।
इनिङ्सको दोस्रो अन्तिम बलमा चौका प्रहार गर्दै मक्सुदले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो दोस्रो शतक बनाए । यसअघि उनले २०२० को फेब्रुअरीमा कीर्तिपुर मैदानमा अमेरिकाविरुद्ध १ सय ९ रन बनाएका थिए । खाबर अलीले ६३ बल खेली ३ चौका प्रहार गर्दै ३०, शोएव खानले ४९ बल खेली ४ चौका प्रहार गरी २७ रन बनाए ।
करण केसीले सानदार बलिङपछि ओमानको ब्याटिङ खुल्न सकेको थिएन । करणले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए । करणले एकदिवसीय अन्तर्राष्ट्रियमा ५ विकेट लिएको यो पहिलो अवसर हो ।
यो नेपाली बलरको एकदिवसीय अन्तर्राष्ट्रियमा चौथो उत्कृष्ट प्रदर्शन हो । कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ४४ रन खर्चेर २ तथा सोमपाल कामीले एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्