आइतबार गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
आषाढ शुक्ल पूर्णिमा अर्थात आज आइतबार गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदैछ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको हो ।
वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठुलो गुन लगाएको मानिन्छ । संस्कृत शव्दगुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ’गिरति अज्ञानं इतिःगुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो ।
आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्टान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा बुबा सहर मान्ने चल रहिआएको वरिष्ठ ज्योतिष एवं पण्डित रुद्रनाथ अधिकारी बताउँछन् ।
उनका अनुसार नेपालमा धर्म र संस्कृतिको क्षेत्र साँघुरो हुँदै गइरहेको छ । र, हामीले हाम्रो रितिलाई धर्मसँग मिलायौँ र धर्मलाई पेसासँग । जसका कारण धर्म विशुद्ध रूपमा प्रयोग भएको छैन ।
विषेशगरि गुरु पूर्णिमाको दिन सम्पूर्ण सठशास्त्रको लिपिबद्ध गरी प्रतिपादन गरेर लोक कल्याणार्थ प्रकाशन गरिएको र भगवान् वेदव्यासको जन्म जयन्तीको अवसर भएकाले पनि यस दिनलाई गुरुहरूप्रति श्रद्धा र सम्मान गरी मनाइँदै आएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्