असार १ देखि भदौ मसान्तसम्म सडकमा खन्ने र भत्काउने काम गर्न रोक
२५ जेठ काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडकमा खन्ने र भत्काउने काम गर्न रोक लगाउने भएको छ ।
वर्षा याममा सडक खन्दा थप बिग्रिने भन्दै सडक विभागले असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नदिने निर्णय गरेको हो ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले वर्षायाममा सडक खन्ने स्वीकृति नदिइने बताएको छ ।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भन्दै सो कार्यालयले सबै सडक डिभिजन कार्यालयहरूलाई निर्णय लागू गराउन भनेको हो ।
कसैले जबर्जस्ती सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि सो कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्