अमेरिकी संसद्‌मा ट्रम्पको सम्बोधन : ‘बाइडेनले चार वर्षमा नगरेको काम मैले ४३ दिनमै गरें’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो सरकारले ४ वर्षमा नगरेको काम आफूले ४३ दिनमै गरेको दाबी गरेका छन् । अमेरिकी संसद् (कांग्रेस)को संयुक्त बैठकलाई सम्बोधन गर्दै ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनलाई अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपतिको संज्ञा दिए । ‘अमेरिका इज ब्याक’बाट भाषण शुरू गरेका उनले बाइडेनको निर्णयका कारण लाखौं आप्रवासीले अमेरिका प्रवेश गर्ने अवसर पाएको बताए ।

‘मेरो सबैभन्दा ठूलो प्राथमिकता अमेरिकी अर्थतन्त्रलाई बचाउनु हो । हामीले आर्थिक विनाश र मुद्रास्फीतिको दुःस्वप्न बाइडेन प्रशासनबाट विरासतमा पाएका छौं । बाइडेनको नीतिहरूले ऊर्जाको मूल्य बढाएको छ, सामानहरू महँगो बनाएको छ र लाखौं अमेरिकीहरूको पहुँचबाट बाहिर राखेको छ, म यो क्षतिलाई उल्टाउन र अमेरिकालाई फेरि सस्तो बनाउन लडिरहेको छु,’ उनले भने ।

frontline

ट्रम्पले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता फिर्ता ल्याउने दाबी गरे । ‘हामीले सरकारी सेन्सरशिप पूर्ण रूपमा बन्द गरेका छौं र अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता फिर्ता ल्याएका छौं,’ उनले भने, ‘मैले पदभार ग्रहण गर्नेवित्तिकै सबै संघीय भर्ती, नयाँ संघीय नीति र विदेशी सहायतामा तत्काल प्रतिबन्ध लगाएको छु । मैले अमेरिकालाई ‘बेकार’ पेरिस जलवायु सम्झौता, भ्रष्ट विश्व स्वास्थ्य संगठन र अमेरिका विरोधी मानव अधिकार आयोगबाट बाहिर निकालें। मैले बाइडेनको वातावरणीय नीतिहरू समाप्त गरें, जसले देशको सुरक्षामा कमी ल्याउने र मुद्रास्फीति बढाएको थियो। हामीले अघिल्लो सरकारको इलेक्ट्रिक वाहन नियमहरू हटायौं।’


ट्रम्पले दक्षिणी सीमामा राष्ट्रिय आपतकाल घोषणा गरेको स्मरण गरे । ‘जो बाइडेन अमेरिकी इतिहासका सबैभन्दा खराब राष्ट्रपति थिए। उनको कार्यकालमा हरेक महिना लाखौं गैरकानुनी मानिस अमेरिका प्रवेश गरेका थिए,’ ट्रम्पले भने,‘मैले ६ हप्ताअघि पदभार ग्रहण गरेदेखि अहिलेसम्म करिब १०० कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु र ४०० भन्दा बढी कार्यकारी कदम चालेको छु । हाम्रो ४३ दिने सरकार देशको इतिहासमा सबैभन्दा सफल भएको छ ।’

ट्रम्पले चाँडै बजेट सन्तुलनमा ल्याउने दाबी गरे । 

ट्रम्पले आफ्नो भाषणको असाधारण समय एलन मस्क र उनको सरकारको दक्षता विभागको प्रशंसा गर्नमा बिताए । युरोपेली संघ, चीन, ब्राजिल, भारत, मेक्सिको र क्यानडालगायत अनगिन्ती अन्य राष्ट्रहरूले अमेरिकी सामानमा उच्च शुल्कहरू चार्ज गर्ने उनले बताए । 

अमेरिकी उत्पादनहरूमा चीनको औसत ट्यारिफ चीनको सामानमाथि अमेरिकाले लगाएभन्दा दोब्बर भएको उनले बताए । दक्षिण कोरियाको औसत ट्यारिफ चार गुणा बढी भएको उनले बताए ।

ट्रम्पले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दा रिपब्लिकन र डेमोक्रेटबीचको तनाव स्पष्ट देखिन्थ्यो । ट्रम्पले आफ्नो चुनावी जितको तारिफ गर्दै डेमोक्रेटको आलोचना गरेका थिए । 

यस्तै, डेमोक्रेट सदस्यहरूले नाराबाजी गरेका थिए । भाषण शुरू गरेको केही समयपछि ट्रम्प बीचमै रोकिनुपरेको थियो । सभामुखले चिच्याइरहेका सिनेटर अल ग्रीनलाई बाहिर निकाल्न आदेश दिएका थिए । त्यसपछि ट्रम्पले आफ्नो भाषण जारी राखे।

तर, धेरैले आफ्नो टिसर्ट र ब्लेजरमा ‘प्रतिरोध’ लेखेका थिए र सम्बोधन बहिष्कार गर्दै सदनबाट बाहिरिएका थिए ।

ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनलाई अमेरिकी राष्ट्रपतिको कार्यकालको इतिहासमा सबैभन्दा सफल दिन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here