अमेरिकाले २० महिनापछि सीमा खुला गर्दै
२२ कात्तिक, न्युयोर्क : अमेरिकाले २० महिनापछि विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ। पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको हो।
कोरोनाभाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो। त्यसअघि सोही वर्षको जनवरीमा चिनियाँ यात्रुलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो।
यात्रा प्रतिबन्धका कारण कतिपय विदेशी नागरिकहरूले आफ्ना परिवारका सदस्यसँग भेट गर्न पाएका थिएनन्। प्रतिबन्धसँगै अमेरिकाको पर्यटन क्षेत्रले पनि ठूलो मूल्य चुकाएको थियो।
नयाँ यात्रा प्रावधानअनुसार अब अमेरिका यात्रा गर्ने हरेक व्यक्तिले उड्नुअघि पूर्ण खोप लगाएको प्रमाण र पछिल्लो ७२ घन्टाभित्र कोभिड नेगेटिभ देखिएको परीक्षण देखाउनु पर्नेछ। अमेरिकाले सात ओटा खोपलाई मान्यता दिएको छ।
प्रतिक्रिया दिनुहोस्