अमेरिकामा २५ करोड मौरी भागेपछि चेतावनी जारी

काठमाडौं : अमेरिकाको वासिङ्टन राज्यमा शुक्रबार एक ट्रक दुर्घटनाग्रस्त भएपछि करिब २५ करोड मौरीहरू भागेका छन्। यस घटनापछि अधिकारीहरूले सर्वसाधारणलाई मौरीको झुण्डबाट टाढा रहन चेतावनी दिएका छन्।
उक्त ट्रकले करिब ७०,००० पाउन्ड (३१,७५० केजी) सक्रिय मौरीका घार बोकेको थियो। ट्रक क्यानडा नजिकको सडकमा पल्टिएपछि आपतकालीन सेवा र ‘मास्टर बी–कीपर’हरूले मिलेर उद्धार कार्य गरेका थिए।




वाटकम काउन्टी शेरिफको कार्यालयले यथासक्य धेरै मौरीहरू बचाउनु आफ्नो उद्देश्य रहेको बताएको छ। अधिकारीहरूले दुर्घटनास्थल पूर्ण रूपमा सुरक्षित नभएसम्म त्यो क्षेत्र बन्द रहने बताएका छन्।
‘२५ करोड मौरीहरू अहिले खुला अवस्थामा छन्,’ शेरिफको कार्यालयले चेतावनी दिँदै भनेको छ,‘मौरीहरू भाग्ने र झुण्डिने सम्भावना भएकाले उक्त क्षेत्रबाट टाढा रहनुहोस्।’
बी–कीपर प्रहरीले सँगै मिलेर ‘बक्स हाइव’ (मौरी राख्ने घारका बाकसहरू) पुनर्स्थापित गर्न लागिपरेका छन्।
‘मौरीहरू पुनः आफ्ना घारमा फर्कुन् र आफ्नी रानी मौरी भेटुन्,’ शेरिफको कार्यालयले जानकारी दिँदै भन्यो,‘यो प्रक्रिया २४ देखि ४८ घण्टाभित्र पूरा हुने अपेक्षा गरिएको छ।’
प्रहरीका अनुसार ट्रक पल्टिएको स्थान वरिपरि विशाल संख्यामा मौरीहरू उडिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्