अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान
तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले ‘धम्कीहरू’ अन्त्य भएको खण्डमा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः खुल्ला गर्ने संकेत दिएको छ। इरानी नियमहरू पालना गर्दै यस मार्गबाट आवतजावतमा सहयोग पुर्याएको भन्दै आईआरजीसीले जहाज मालिकहरूलाई धन्यवाद समेत दिएको छ।
आईआरजीसीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आक्रमणकारीहरूको धम्की समाप्त भएपछि नयाँ प्रक्रियाअन्तर्गत यस समुद्री मार्गबाट सुरक्षित र स्थायी रूपमा जहाजहरू गुड्ने सुविधा उपलब्ध गराइनेछ।’
इरानको यो बयान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’ रोक्ने घोषणा गरेको केही घण्टापछि आएको हो। ‘प्रोजेक्ट फ्रीडम’ जहाजहरूलाई होर्मुज जलडमरूमध्यबाट सुरक्षित रूपमा पार गराउन सञ्चालन गरिएको अमेरिकी सैन्य अभियान थियो।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले वार्ताका लागि सच्चा प्रयास र सद्भाव आवश्यक रहेको बताए । उनका अनुसार वार्ताको अर्थ आदेश, धोका वा जबरजस्ती नभई विवाद सुल्झाउने वास्तविक कोसिस हुनुपर्छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानसँगको तनावबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका थिए, .]इरानसँगको युद्ध र नाकाबन्दी सम्झौतामार्फत अन्त्य हुन सक्छ। तर, यदि इरान सम्झौताका लागि तयार भएन भने बमबारी अझ तीव्र पारिनेछ।’
होर्मुज जलडमरूमध्य विश्वको तेल आपूर्तिका लागि सबैभन्दा महत्त्वपूर्ण मार्ग मानिन्छ। इरानले यसलाई खोल्ने संकेत दिनु र अमेरिकाले आफ्नो सैन्य सुरक्षा अभियान ‘प्रोजेक्ट फ्रीडम’ रोक्नुले मध्यपूर्वको तनाव कम हुने आशा जगाएको छ। यद्यपि, ट्रम्पको पछिल्लो चेतावनीले वार्ताको वातावरण अझै अनिश्चित रहेको देखाउँछ।






प्रतिक्रिया दिनुहोस्