अमेरिकाको टेक्सासमा बाढीको कहर : २४ को मृत्यु, आपतकाल घोषणा

बाढीका कारण ग्वाडालुपे नदी किनारमा अवस्थित छात्रा आवास क्रिस्चियन समर क्याम्पका २३ देखि २५ जना हराइरहेका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • अमेरिकाको टेक्सासमा बाढीका कारण २४ जनाको मृत्यु भएको छ।
  • बाढीका कारण सडक र टेलिफोन नेटवर्क बिच्छेद्‌ भएको र उद्धार कार्य जारी रहेको छ।
  • राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढीलाई ‘डरलाग्दो र आश्चर्यजनक’ भनेका छन्।

२१ असार, काठमाडौं । अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । शुक्रबार बिहानदेखि आएको विनासकारी बाढीमा २४ जनाको मृत्यु भएको र यो संख्या बढ्न सक्ने सीएनएनले उल्लेख गरेको छ ।

बाढीका कारण टेक्सासका कयौं क्षेत्रमा आपतकाल घोषणा गरिएको छ भने सडक सञ्जाल र टेलिफोन नेटवर्क बिच्छेद्‌ भएको छ ।

टेक्सासको ग्वाडालुपे नदी आसपासका क्षेत्रमा शुक्रबार विहानदेखिको भारी वर्षा हुँदा बाढी आएको गार्जिएनले जनाएको छ । अचानकको भारी वर्षाले नदीको सतह झन्डै ४५ मिनेटमै २६ फिट (७.९ मिटर) बढेको अधिकारीहरुले बताएका छन् ।

बाढीका कारण बेपत्ता भएकाहरु नभेटिएसम्म उद्धार कार्य जारी रहने अधिकारीहरुले बताएका छन् । टेक्सास मिलिटरी डिपार्टमेन्टका मेजर जनरल थोमस एम. सुएल्जरका अनुसार शुक्रबार रातिसम्म २३७ जना भन्दा बढीको उद्धार गरिएको छ । अधिकांशलाई हेलिकोप्टरको सहायताले उद्धार गरिएको उनले बताए ।

बाढीका कारण ग्वाडालुपे नदी किनारमा अवस्थित छात्रा आवास क्रिस्चियन समर क्याम्पका २३ देखि २५ जना हराइरहेका छन् । यो क्याम्प सान एन्टोनियादेखि उत्तर–पश्चिम १०५ किलोमिटरको दूरीमा पर्छ ।

टेक्सासका अधिकारीहरुका अनुसार कर काउन्टीमा १४ वटा हेलिकोप्टर, १२ वटा ड्रोन र ५०० भन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार कार्य चलिरहेको छ ।

बाढीमा फँसेका केही वयस्क र बालिबालिकाहरुलाई रुखबाट समेत उद्धार गरिएको थियो । टेक्सास गभर्नर ग्रेग एबटले घटनालगत्तै शनिबारमा उद्धार कार्य जारी रहेको बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गभर्नर एबटसँग मिलेर सरकार बाढीपीडितहरुको उद्धार तथा राहत कार्यमा जुटेको बताएका छन् । ‘हामी उनीहकरुको हेरचाह गर्छौं,’ ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरुसँग कुरा गर्दै बाढीलाई ‘डरलाग्दो र आश्चर्यजनक’ भनेका छन् ।

-तस्वीरहरु: सीएनएन/गार्जिएन

टेक्सास गभर्नर ग्रेग एबट कर काउन्टीमा शुक्रबार राति आयोजित पत्रकार सम्मेलनमा बोल्दै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार राति एयरफोर्स वनमा पत्रकारहरु कुरा गर्दै

अमेरिका टेक्सास बाढी

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here