अब बबई नदीको फोहर पानी खानुपर्ने बाध्यता अन्त्य हुने
–रमेशकुमार वली
सल्यान, २४ असोज (रासस) ः जिल्लाको कालीमाटी गाउँपालिका–७ घुइँयाबारीमा खानेपानी आयोजना निर्माण सुरुआत गरिएको छ । आयोजना निर्माणसँगै सो क्षेत्रमा रहेका ४०० घरपरिवारमा वर्षांैदेखि बबई नदीको फोहर पानी खानुपर्ने बाध्यता अन्त्य भएको छ । बस्तीमा खानेपानीको अभाव हँुदा स्थानीयले बस्ती नजिकै रहेको सो नदीको फोहर पानी प्रयोग गर्दै आएका थिए । वर्षायाममा नदीमा धमिलो पानी प्रयोग गर्ने गरेको स्थानीय वीरबल बुढाले जानकारी दिनुभयो ।
“यहाँ ४०० भन्दाबढी घरधुरी छन् । खानेपानीको स्रोत नहँुदा वर्षौंदेखि यही बबईको पानीले गुजरा चलाउँदै आएका छौँ”, उहाँले भन्नुभयो । अहिले भने गाउँमा दुई खानेपानी योजना अगाडि बढ्दा स्थानीय औधी खुशी हुन थालेका छन् । आफूहरुलाई बबईको पानी धमिलो छ खाएपछि रोग लाग्छ भन्ने थाहा हुँदा पनि बाध्यताले गर्दा नदीको पानी प्रयोग गर्नुपरेको स्थानीय गीता बोहराले जानकारी दिनुभयो । “
पानी धमिलो हुन्छ घर ल्याएर केही घण्टासम्म राख्दा फोहर पिँधमा थिग्रिएपछि पानी खान्छौँ के गर्नु यसको विकल्प थिएन अब भने आयोजना सम्पन्न भएपछि दुःख हट्ने भयो”, उहाँले भन्नुभयो । बस्तीमा आउने पानीका मुहान धेरै भए पनि कसैले चासो नदिएका कारण खानेपानीको समस्या भएको स्थानीयको गुनासो छ । “यहाँ बस्तीमा आउने पानीका मुहान धेरै छन् ।
हामीलाई उपेक्षा गरियो”, स्थानीयवासी जीतबहादुर घर्तीले भन्नुभयो । गाउँमा यति धेरै घरपरिवार हँुदा पनि कतैबाट पनि समस्याको समाधानका लागि सुनुवाइ नभएको स्थानीयको भनाइ छ । मध्यवर्ती क्षेत्रमा जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जामा पहुँच कार्यक्रमअन्तर्गत बस्तीमा ठूला खानेपानी आयोजना निर्माण गर्न लागेपछि भने स्थानीय खुशी भएका छन् ।
कार्यक्रमबाट रु १५ लाख र गाउँपालिकाको रु नौ लाख गरी रु २४ लाखको लागतमा खानेपानी योजना सुरुआत गरिएको जनाइएको छ । कार्यक्रमका जिल्ला संयोजक महेश हिताङ्गले कार्यक्रमअन्तर्गत मुहानमै पानीको शुद्धीकरण गरी घरघरमा धारा जडान गरिने उहाँले बताउनुभयो ।
“यस क्षेत्रमा समस्या धेरै छन् तर पनि खानेपानीको समस्या प्रमुख भएकाले हाल हामीले दुई खानेपानी आयोजना सञ्चालन गरेका छौँ यसबाट तत्काल १२७ घरमा धारा जडान गरिने तयारी गरिएको छ”, उहाँले भन्नुभयो । यस क्षेत्रमा खानेपानीको चरम सङ्कट भएका कारण आयोजना सञ्चालन गर्नुपरेको र यसबाट स्थानीयलाई खानेपानीमा सहज पुग्ने संयोजक हिताङ्गले जानकारी दिनुभयो ।
अहिले दुवै आयोजनामा काम धमाधम भइरहेकाले अबको तीन महिनाभित्रमा सबै घरमा धारा जडान गरिने खानेपानी निर्माण समितिका अध्यक्ष चित्रबहादुर बुढाले जानकारी दिनुभयो । “हामीले रात दिन नभनेर आयोजनाको कामलाई अगाडि बढाइरहेका छाँै, जतिसक्दो छिटो यहाँका बासिन्दाले शुद्ध खानेपानीको प्रयोग गर्न पाउन भन्ने चाहाना छ”, उहाँले भन्नुभयो ।
बस्तीभित्रका सबै घरधुरीमा धारा जडान गरिने उहाँले जानकारी दिनुभयो । देश सङ्घीय संरचनामा गएको चार वर्ष पूरा भइसक्दा पनि यहाँका बासिन्दाले स्थानीय सरकारको राहत महसुस गर्न पाएका छैनन् ।
“यहाँ गाउँपालिकाले दिने बजेट अत्यन्तै थोरै छ एउटा वडाभरिका योजना सञ्चालन गर्नका लागि रु २० लाख छ यसले खानेपानी निर्माण गर्नु कि अन्य अत्यावश्यक काम गर्नु, तर पनि मैले भने खानेपानीलाई प्राथमिकतामा राखेको छु”, कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष नयनसिंह रानाले भन्नुभयो । गाउँपालिकाले बजेट विनियोजनमा विभेद गरेका कारण पनि आफ्नो वडा पछि परेको उहाँले गुनासो गर्नुभयो । –––
प्रतिक्रिया दिनुहोस्