अबको केही वर्षमै हेलम्बु सबैभन्दा धनी गाउँपालिका बन्नेछ
स्थानीय तहको निर्वाचन भएको पनि तीन वर्ष बितिसकेको छ । ७५३ वटा स्थानीय तहका जनप्रतिनिधिहरूले चुनाव अघि जनतालाई आश्वासनका पोका र दलका घोषणापत्र बोकेर आए । तिनै घोषणापत्र देखाएर जनतासँग भोट मागे र जनप्रतिनिधि बने ।
अहिले कतिपय जनप्रतिनिधिहरू चुनावको बेला गरेको बाचा र घोषणापत्रहरूप्रति पूरा प्रतिबद्ध छन् भने केही जनप्रतिनिधिले भोट माग्दा प्रयोग गरेको घोषणापत्र कागजमै सीमित राखे ।
गाउँगाउँमा सिंहदरबार पुग्छ भनेर आश गरेका आम सर्वसाधारणले सामान्य कामकाज पनि सम्बन्धित जिल्ला वा शहरमा नै पुग्नुपर्ने बाध्यता भने टरेको छैन । सिन्धुपाल्चोक देशको राजधानीबाट नजिक भए पनि हिमाली भेगका स्थानीयहरू स्वास्थ्य र शिक्षाबाट अझै बञ्चित नै छन् ।
तर, तीन वर्ष अघिको र अहिलेको हेलम्बुको स्वरुप भने धेरै परिवर्तन भइसकेको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको हेलम्बुलाई अझ देश–विदेशमा चिनाउन झनै लागिपरेका छन् हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा । उनी निर्वाचित भएर आइसकेपछि शिक्षा र स्वास्थ्यबाट बञ्चित गाउँपालिकामा विशेष जोड गरेर शिक्षा, स्वास्थ्य सडक पु¥याउन दत्तचित भएर लागिपरेका छन् । अध्यक्ष शेर्पा भन्छन्, ‘अबको केही वर्षमा पर्यटनबाट आम्दानी गरेर देशकै धनी गाउँपालिका बन्नेछौं । यहाँका सर्वसाधारणलाई स्वरोजगार बनाएर छुट्टै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नेछौं ।’
प्रतिक्रिया दिनुहोस्