अन्तरिक्षमा जाँदै ६ महिला, गायिकादेखि अर्बपतिकी श्रीमतीसम्म

अर्बपति जेफ बेजोसको अन्तरिक्ष प्रविधि कम्पनी ब्लू ओरिजिनको महिला अन्तरिक्ष मिसन अहिले चर्चामा छ । यस मिसनमार्फत् विश्व प्रसिद्ध पप आइकन केटी पेरीदेखि अन्य विभिन्न हाइ प्रोफाइल महिलाहरु अन्तरिक्षमा जानेछन् ।
बेजोसको ब्लू ओरिजिनमार्फत् अन्तरीक्षमा जानेमा पेरीसँगै पत्रकार गेल किंग, नासाकी पूर्व रकेट वैज्ञानिक आयशा बवे, बायोएस्ट्रोनटिक्स अनुसन्धान वैज्ञानिक तथा मानव अधिकारकर्मी अमान्डा न्यूगेन, फिल्म निर्माता केरिन फ्लिन तथा पत्रकार एवम् हेलिकप्टर पाइलट लरेन सान्चेज रहेका छन् । लरेन वास्तवमा अर्बपति जेफ बेजोसकी प्रेमिका पनि हुन् ।




ब्लू ओरिजिनका अुनसार अन्तरिक्षको यात्रामा जाने ब्लू ओरिजिनको त्यस सम्पूर्ण महिला चालकदल मिसन ब्लू ओरिजिनको ११औँ मानवयुक्त अन्तरिक्ष उडान हुनेछ ।त्यसैगरी अन्तरिक्ष उडानका क्रममा सन् १९६३ पछि विश्वमा पहिलोपटक महिलाहरुको मिसन अन्तरिक्षमा जाँदैछ ।
यसपटक महिलामात्र सहभागी अन्तरिक्ष मिसनका लागि आगामी अप्रिल १४ मा अन्तरीक्षयान प्रक्षेपण हुनेछ । त्यसको केही दिनअघि न्यू शेफर्ड अन्तरिक्षयानका चालकदल टेक्सासको वेन हर्नमा प्रक्षेपणस्थलमा अन्तिम तालिम सत्रका लागि जम्मा हुनेछन् ।
यो स्पेस मिसनको नाम एनएस ३१ मिसन हो । उक्त मिसनको नेतृत्व जेफ बेजोसकी प्रेमिका तथा पूर्वपत्रकार लरेन सान्चेजले गर्नेछिन् । यो प्रतिष्ठित टिमलाई एकत्रित गर्ने महत्वपूर्ण भूमिका उनकै काँधमा रहनेछ ।
यस स्पेस मिसनका बारेमा प्रतिक्रिया दिँदै गायिका पेरीले आफ्नो अन्तरिक्ष यात्राले आफ्नी छोरी तथा नयाँ पुस्ताका अन्य मानिसहरुलाई पनि अन्तरिक्षमा जाने सपना पूरा गर्नका लागि प्रेरित गर्ने विश्वास आफूमा रहेको बताएकी छिन् ।
उनीहरुको अन्तरीक्ष यात्रा १० मिनेटको हुनेछ । तथापि यसलाई अन्तरिक्ष पर्यटनको क्षेत्रमा कोशेढुङ्गा सावित हुनेछ ।
चन्द्र उडान परीक्षण देखि सेलिब्रेटीको यात्रासम्म
यो महिला मिसनले अन्तरिक्ष पर्यटन तथा अनुसन्धानमा ब्लू ओरिजिनको यसअघिको सफलतालाई पछ्याएको छ । कम्पनीको न्यू शेफर्ड अन्तरिक्षयानको पछिल्लो उडानका क्रममा चन्द्रमाको कृत्रिम गुरुत्वाकर्षणको परीक्षण गरेको थियो ।
यो महिला मिसन अनुसन्धान प्रयोजनका लागि नभएपनि यसले अन्तरिक्ष पर्यटनमा प्रतिनिधित्वको तगारोलाई तोड्नेछ र अन्तरिक्ष केवल वैज्ञानिक अन्तरिक्षयात्रीहरुको लागि मात्रै हो भन्ने मान्यतामा परिवर्तन ल्याउनेछ ।
अन्तरिक्ष |अन्तरिक्ष यात्रा |अर्बपती |गायिका |पत्रकार
प्रतिक्रिया दिनुहोस्