दोलखाको मेलुङ गाउँपालिका–६ स्थायी घर भएका २९ वर्षीय सहचालक विराट ठकुरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
११ चैत, काठमाडौं । शिवरात्रिमा गाँजा विवादमा मारिएका ५० वर्षीय अड्विर राईको हत्या प्रकरणमा पक्राउ परेका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ । दोलखाको मेलुङ गाउँपालिका–६ स्थायी घर भएका २९ वर्षीय सहचालक विराट ठकुरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ को ज्यान मार्न नहुने कसुरमा मुद्दा दर्ता भएको छ । उक्त दफाको कसुर गरेमा जन्मकैदको सजाय हुने व्यवस्था छ । उनको मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासमा परेको छ । अहिले बयानको काम भइरहेको छ ।
बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि पुर्पक्षमा पठाउने वा धरौटी तथा साधारण तारेखमा रिह गर्ने मध्ये एक आदेश आउनेछ ।
शिवरात्रिको पूर्वसन्ध्यामा गाँजा खरिद र बिक्री सम्बन्धी विवादमा राईको हत्या भएको थियो । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा ठकुरीलाई पक्राउ गरेको थियो ।
ठकुरी बा४ख ५९९३ नम्बरको गाडीमा सह–चालकका रुपमा काम गर्दै आएका थिए । उनले ढुंगाले हानेर हत्या गरेको पाइएको थियो । शिवरात्रिको पूर्वसन्ध्यामा सार्वजनिक बसका सह–चालक शाहीले गाँजा खरिद गर्न चाबहिलतिर निस्किएका थिए । त्यहाँ उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका राईलाई भेटेका थिए ।
‘राईले गाँजा बेचेको थाहा पाएपछि उनी किन्न गएका थिए, त्यसक्रममा पोकाको ५ सय रुपैयाँ दिने गरी किनबेच सहमति भएको रहेछ,’ ती अधिकृतले भने, ‘तर, पोका लिएर गएपछि उनले ५ हजार मागेको भन्ने पक्राउ परेका ठकुरीको बयान छ ।’
त्यति पैसा नदिए प्रहरीलाई खबर गर्ने, आफ्नो समुदायका व्यक्ति समेत बोलाउने भनेपछि उनी त्यहाँबाट निस्किएका थिए । त्यसक्रममा राई आफूलाई पछ्याउँदै हिँडेको उनले बयानमा भनेका छन् ।
‘पछ्याउन नछाड्ने अनि उल्टै धम्क्याएपछि धोबीखोला करिडोर नजिक ढुंगाले हानेर हत्या गरेको उनको भनाइ छ ।
अपराध| नेपाल प्रहरी| हत्या
प्रतिक्रिया दिनुहोस्