अघि वढ्यो बलेवा विमानस्थलको काम, असारसम्ममा सक्ने लक्ष्य

नेपाल नागरिक उड्डयन प्राधिकरणले बाग्लुङ नगरपालिकाको समन्वयमा बलेवास्थित विमानस्थल निर्माण अगाडि बढाएको छ । चालू आर्थिक वर्ष (आगामी असार)भित्रै सबै काम सक्नेगरी निर्माण कम्पनीले कामलाई तीब्रता दिएको हो ।


केही समयअघिसम्म लकडाउनका कारण मजदुर नभएर रोकिएको कामले अहिले गति लिएको हो । बाग्लुङ नगरपालिकाले निर्माणमा सहजीकरण गराएकाले कामले गति लिएको नगरप्रमुख जनकराज पौडेलले बताए । पौडेलले बेलाबेला आफैँ पुगेर यहाँको अनुगमन गरिरहेका छन् ।

frontline


धेरै वर्षदेखि अलपत्र रहेकाले पक्की धावनमार्ग बनाएर जहाज चलाउने लक्ष्यले पुनर्निर्माणको काम गरिएको प्राधिकरणका कार्यक्रम व्यवस्थापक मीनराज ओझाले बताए । उनले समयमै काम सकेर नियमित जहाज उडाउने योजनामा पनि साथ दिने बताए । प्राधिकरणले ‘काष्ठमण्डप उमा एण्ड संयुक्त निर्माण कम्पनीसँग गत वर्षको १५ पुसमा ८ करोड २४ लाख ३४ हजार रुपैयाँमा विमानस्थल कालोपत्रेको सम्झौता गरेको थियो ।


२०१६ देखि २०१८ सालसम्म लगाएर स्थानीयले बनाएको विमानस्थलमा पोखरा बाग्लुङ सडक नबनेसम्म नियमित जहाज चलेको स्थानीयले बताए । सडक बनेपछि भने जहाज चल्न छाडेको थियो । बाग्लुङ नगरपालिकाले खाली सिटको भारसमेत बेहोर्ने गरी २०७५ सालमा जहाज चलाएको थियो ।


साताको दुई दिन चलाएको जहाजबाट घाटा भएको र कच्ची धावनमार्गका कारण जहाज चिप्लिने खतरा भएको भन्दै हिउ“दमा मात्र चलेर उडान बन्द भएका थिए । गत वर्ष नगरपालिकाकै पहलमा प्राधिकरणले मैदान कालोपत्रेका लागि ठेक्का लगाएपछि कामले गति लिएको हो ।


ठेकेदार कम्पनीले जेठ मसान्तसम्म प्राधिकरण र नगरपालिकालाई विमानस्थल हस्तान्तरण गर्ने योजना बनाएको छ । विमानस्थलमा ६२० मिटर लामो पक्की नाली बनाउने, मैदानमा १ हजार ५०० मिटर लामो घेराबारा लगाउने तयारी छ ।


मैदानको सबै भाग १ किलोमिटर लामो छ । तर हाल ६२० मिटर लामो, २० मिटर चौडा कालोपत्रे गरिनेछ । मैदान भने ६० मिटर चौडा सम्याइएको छ ।


यहा“ १८ देखि २४ सिट क्षमताका जहाजहरू चल्ने आँकलन गरेर मैदान पुनर्निर्माण भएको हो । यस मैदानमा सडकको भन्दा फरक गुणस्तरको कालोपत्रे हुने बताइएको छ । अहिले मैदानमा गिट्टी बिछ्याउने काम भइरहेको छ । गर्मी मौसम सुरु हुनासाथ कालोपत्रेको काम थालिने ठेकेदार कम्पनीले जनाएको छ ।


बाग्लुङको बलेवा विमानस्थलसम्म पुग्नका लागि कालीगण्डकी करिडोरको स्तरोन्नति भइरहेको छ । त्यस्तै, बाग्लुङ कुश्मीसेरा सडक पनि कालोपत्रेको काम भइरहेको छ । यी दुवै सडक स्तरीय भएपछि सदरमुकामबाट सहजै आउजाउ गर्न सकिने र जहाज पनि नियमित चल्न सक्ने पौडेलले बताए ।


त्यस्तै, छिमेकी पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारबाट पनि नजिक भएकाले यो विमानस्थलको फाइदा लिन सकिने बाग्लुङ नगरपालिका वडा नं.–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।


बलेवादेखि कुश्मा जोड्ने अग्लो झोलुङ्गे पुल, बञ्जी जम्प र यान्त्रिक पुलसमेत भएकाले पर्वतका धेरै मानिसले विमानस्थलको उपयोग गर्न सक्ने बताइएको छ । बलेवाबाट काठमाडौं र भैरहवाका लागि जहाज नियमित संचालन गर्दा सहज हुने स्थानीयले बताए । पटकपटक चलेर बन्द भए पनि पक्की धावनमार्ग बनेपछि भने स्थायित्व हुने खत्रीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here