अक्सिजन अभाव नहुने ग्यारेन्टी: पाँच वटा ट्यांकर उपलब्ध भएमा

श्रोत: ईन्टरनेट

स्वास्थ्य मन्त्रालयले अहिले दैनिक १५ हजार अक्सिजन सिलिण्डर माग भएकोमा करीब १० हजार मात्र आपूर्ति गर्न सकिएको

अहिले नेपालले चरम अक्सिजन अभाव झेलिरहेको छ। उपत्यकाका ११ वटा अस्पतालले अक्सिजन अभावका कारण बिरामीको उपचार गर्न नसक्ने भन्दै हात उठाइसकेका छन्।

frontline

सरकारले नै माग अनुसार अक्सिजन पुर्‍याउन नसकिएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले अहिले दैनिक १५ हजार अक्सिजन सिलिण्डर माग भएकोमा करीब १० हजार मात्र आपूर्ति गर्न सकिएको बताएको छ। अक्सिजन हाहाकार हुन थालेपछि मन्त्रालयले अस्पताललाई कति सिलिण्डर पाउने भनेर कोटा तोकिदिएको छ। र त्यसको समन्वय सिसिएमसीले गर्ने भनिएको छ।

तर अस्पतालहरूले सरकारले तोकिदिएको कोटाले विरामीको उपचार गर्न नपुग्ने बताएका छन्। दैनिक ४ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा सरकारले जम्मा सय वटा मात्र दिने भन्दै विरामीको उपचार गर्न नसकिने अस्पताल सञ्चालकहरूको भनाइ छ।

अहिलेको अक्सिजन मागलाई उद्योगहरूले समेत थेग्न सकेको छैन। २४ घण्टै उद्योग चलाए पनि अस्पतालको माग अनुसार अक्सिजन दिन नसकिएको उद्योगीहरू बताउँछन्। तर कतिले अक्सिजन सिलिण्डरको अभावले गर्दा अहिलेको समस्या उत्पन्न भएको बताए पनि उद्योगीहरूले भने उत्पादन नै कमी भएकाले अहिलेको समस्या देखिएको दाबी गरेका छन्।

शंकर ग्यास उद्योगका सञ्चालक शंकर अग्रवालले भने, ‘अक्सिजन सिलिण्डरमा कुनै समस्या छैन, उत्पादनकै समस्या हो।’उनले सिलिण्डरहरू भए पनि उत्पादन कम हुनाले माग अनुसारको सिलिण्डर भर्न नसकिएको बताए। त्यसैले अहिले भइरहेको अक्सिजन अभावको एक मात्र हल भनेको उत्पादन नै बढाउनु रहेको अग्रवाल दाबी गर्छन्। ‘अहिले उत्पादन बढाउने भनेको लिक्विड अक्सिजनबाटै हो। लिक्विड म जति पनि ल्याइदिन्छु तर सरकारले ट्यांकर उपलब्ध गराउनुपर्‍यो,’ उनले भने।

अग्रवालले आफूसँग दुइटा मात्र लिक्विड अक्सिजन बोक्ने ट्यांकर भएको भन्दै थप पाँच वटा ट्यांकर सरकारले उपलब्ध गराए अहिले भएको अक्सिजनको समस्या हल हुने दाबी गरे। ‘सरकारले हामीलाई पाँच वटा ट्यांकर उपलब्ध गरायो भने नेपालभरी अक्सिजन अभाव हुँदैन भन्ने म ग्यारेन्टी दिन्छु,’ उनले भने।

अग्रवालका अनुसार एउटा ट्यांकरले ल्याएको लिक्विड अक्सिजनले १५ सय सिलिण्डर भर्न पुग्छ। त्यो हिसाबले सात वटा ट्यांकर भयो भने आफूले मात्र १० हजार बढी सिलिण्डर बराबरको अक्सिजन आपूर्ति गर्नसक्ने उनको भनाइ छ। हुन पनि मन्त्रालयले नै दैनिक १५ हजार अक्सिजन सिलिण्डर माग भएकोमा १० हजार आपूर्ति गर्न सकिएको बताएको छ। यदि शंकर एक्लैले करिब १० हजार अक्सिजन सिलिण्डर आपूर्ति गर्न सके लगभग समस्या हल हुने अनुमान लगाउन सकिन्छ।

तर अहिलेको अवस्थामा ट्यांकर जुटाउन भने त्यति सहज छैन। भारतमा पनि ट्यांकरकै अभाव रहेको भन्दै अग्रवाल भन्छन्, ‘भारतसँग पनि कुरा गरेका हौं, तर मानेको छैन। आजै मात्र चिनियाँ कन्सोलरसँग पनि कुरा गरेर जसरी पनि दुइटा ट्यांकर मिलाइदिनुस् भनेको छु तर खोइ के हुन्छ हेरौं।’

अग्रवालकै कुरा अनुसार तत्काल भारतबाट ट्यांकर पाउन सहज छैन। अहिलेको अवस्थामा भारत आफैं भयावह स्थितिसँग जुधिरहेको छ। अक्सिजन अभावका कारण त्यहाँ दैनिक हजारौं विरामीको ज्यान गुमाइरहेका छन्। यस्तो अवस्थामा भारतबाट ट्यांकर पाउने सम्भावना निकै कम हुन्छ। अग्रवाल पनि सरकारले पहल गरे बरू चीनबाट आउन सहज हुने बताउँछन्। तर त्यसको लागि सरकारले नै पहलकदमी लिनुपर्ने उनको भनाइ छ।

अग्रवाल भन्छन्, ‘ट्यांकर चीनबाट ल्याउन सकिन्छ। बरू कति पैंसा लाग्छ म पैंसा तिर्न तयार छु।’

उनले यसबारे आफूले पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि कुरा गरेको जनाए। उनले चीनबाट ट्यांकर आइपुग्न सात दिन लाग्ने भन्दै यदि सम्भव भए कार्गो जहाजबाट पनि ल्याउन सकिने जनाए। ‘फेरि नेपालमा त्यत्रो जहाज अवतरण गर्नसक्छ कि सक्दैन भनेर चाही बुझ्नुपर्छ। तर भारतमा त जहाजबाटै एक ठाउँबाट अर्को ठाउँ पुर्‍याइरहेको छ,’ उनले भने। 

यदि चीनबाट ट्यांकर ल्याउन सकिए लिक्विड अक्सिजन भने भारतबाट सहजै ल्याउन सकिने अग्रवाल बताउँछन्। उनले भारतबाट लिक्विड अक्सिजन ल्याउन कुनै समस्या नरहेको भन्दै अहिले समस्या नै ट्यांकरको रहेको बताए। भारतबाट लिक्विड अक्सिजन भरेर ३६ घण्टामा नेपाल ल्याउन सकिने उनले जनाए।

तर त्यसरी ल्याइएको ट्यांकरबाट सोझैं सिलिण्डरमा अक्सिजन भर्न भने मिल्दैन। त्यो ट्यांकरमा भएको अक्सिजन यहाँ ल्याएर अर्को लिक्विड ट्यांकमा खन्याउनुपर्छ। उक्त ट्यांक उपत्यकामा टेकु अस्पताल र ट्रमा सेन्टरमा मात्र छ। ती दुबै अस्पतालको ट्यांकमा शंकर ग्यासले नै अक्सिजन भर्दै आएको छ। आजै मात्र एउटा ट्यांकर आइपुग्ने र त्यो टेकु ट्रमाको ट्यांकमा खन्याइने अग्रवालले बताए।

उनले आफूसँग रहेको तीन वटा गरी हाल ६ ठाउँमा त्यस्ता ट्यांक रहेको भन्दै त्यसमा समस्या नहुने जनाए। ‘टेकु अस्पताल, ट्रमा र लर्ड बुद्ध मेडिकल कलेजमा एक-एक वटा ट्यांक छ। बाँकी बालाजु, नारायणगढ र भेरहवामा एक-एक वटा गरी तीन वटा मेरै ट्यांक छन्,’ अग्रवालले भने।

उनले यदि थप ट्यांकर आए तत्काल काठमाडौंस्थित टिचिङ अस्पताल, नेपालगञ्जस्थित भेरी अस्पताल र धरानस्थित विपी स्वास्थ्य प्रतिष्ठानमा लिक्विड ट्यांक जडान गर्न सकिने जनाए। उनले दुईटा मात्र ट्यांकर हुँदा अहिले टेकु र ट्रमालाई नै पुर्‍याउन गाह्रो भएको सुनाए। ‘पहिले टेकुमा एक पटक भरेपछि १५ दिन पुग्थ्यो तर अहिले त तीन दिन मात्र पुग्छ। आज आइपुग्ने पनि दुबै अस्पताललाई आधा आधा दिन्छौं,’ अग्रवालले भने।

उनले जतिसक्दो चाँडो ट्यांकर ल्याएर लिक्विड अक्सिजन ओसारे मात्र वर्तमान समस्या हल हुने दोहोर्‍याए। अहिलेको उत्पादनले अस्पतालको माग धान्न नसकिने भन्दै अग्रवालले भने, ‘रातभरि सुत्न पाएको छैन। कहिले गृह सचिव, कहिले सिडिओ, कहिले अस्पतालका निर्देशकहरूको फोन आउँछ। राति १२ बजे पनि फोन आउँछ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here