९८ वर्षको उमेरमा अभिनेता दिलीप कुमारको निधन
काठमाडौं । बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन भएको छ ।
बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो ।
दिलीप कुमारले बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करले जनाएका छन् ।
११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो ।
करिब २२ वर्षको उमेरमा उनले फिल्ममा काम सुरु गरेका थिए । उनले १९४४ मा फिल्म ‘ज्वार भाटा’ मा काम गरेका थिए । यद्यपि यो फिल्मले धेरै चर्चा पाएन ।
दिलीप कुमारले करिब पाँच दशकको करियरमा ६० वटा जति फिल्ममा काम गरे ।
थोरै होउन् तर राम्रा होउन् भनेर उनले केही फिल्ममा अभिनय गर्न अस्वीकारसमेत गरेका थिए ।
उनका यादगार फिल्महरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा लगायत रहे । उनको अन्तिम फिल्म किला हो, जुन १९९८ मा सार्वजनिक भएको थियो ।
दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड जितेका छन् । मिडिया रिपोर्टका अनुसार सबैभन्दा धेरै अवार्ड जित्ने कलाकारको रुपमा दिलीप कुमार सबैभन्दा अगाडि छन् ।
उनी १९९१ मा पद्म भूषण र २०१५ मा पद्म विभूषणबाट सम्मानित भएका थिए ।
१९९४ मा दादा साहेब फाल्के अवार्ड पाएका थिए । २००० देखि २००६ सम्म उनी राज्यसभा सदस्य पनि बनेका थिए ।
उनलाई पाकिस्तानले १९९८ मा सर्वश्रेष्ठ नागरिक सम्मान ‘निशान ए इम्तियाज’बाट पनि प्रदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्