८० वर्षीया हजुरआमाको हत्याको आरोपमा नाति पक्राउ
बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा रिखीदेवी जप्रेलको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
वडा नम्बर ५ भलानेमा बस्दै आएकी बृद्ध जप्रेललाई मारेर घर आगन नजिकै गाढेको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ ।
२७ गते आमा घरमा नदेखिपछि वडा अध्यक्षसमेत रहेका रामबहादुर जप्रेलले आमाको खोजी गरेका थिए । खोृजी गर्दै जाँदा कही कतैपनि पत्तो नपाएपछि भदौ ३० गते प्रहरीलाई जानकारी दिएको थियो ।
घरभित्र रगतका छिटा (थोपा) देखिएको र आगन नजिकै खनेको ठाउँसमेत देखेपछि प्रहरीलाई खबर गरेको थियो । वडा अध्यक्ष जप्रेलका २ वटा घर रहेको र एउटा घरमा बृद्ध आमा र नाती बस्दै आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
उनले भने ‘वडा अध्यक्ष जप्रेलले प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली घटनास्थलमा खटियो । प्रहरी घटना स्थलमा पुगेको बारे जानकारी पाएपछि घटनामा संग्लग्न २१ बर्षिया सुवास जप्रेल फरार समेत भइसकेका थिए ।
उनको खोजी गर्दै जाँदा उनलाई भाग्दै गरेको अवस्थामा दुर्गाथली गाँउपालिका वडा नम्बर ७ को लोवादेब डाँडाबाट पक्राउ गरेको हो ।’ बृद्ध बजैलाई किन मारेको हो भन्ने बारे अनुसन्धान भइ रहेको प्रहरी नायब उपरिक्षक खड्काले बताए ।
८० वर्षीया बृद्धले नाक र कानमा लगाएको सुनको मुन्द्रासमेत नभएका कारण सुनको मुन्द्राका लागि मारेको हुन सक्ने आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायब उपरिक्षक रुपक खड्कासहितको टोली अनुसन्धानमा खटिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्