३५ लाख लगानीमा त्रिपुरेश्वरमा शौचालय निर्माण

२९ माघ, काठमाडौं । कुनै समय ट्रली बसको टिकट काउण्टर रहेको र पछिल्लो समय जीर्ण बनेको त्रिपुरेश्वर चोकमा तपाईं आज-भोलि पुग्नुभयो भने त्यहाँ टिकट काउण्टर होइन आधुनिक र सुविधा सम्पन्न सार्वजनिक शौचालय देख्न सक्नुहुनेछ।
त्यहाँ काठमाडौं महानगरपालिकाले एरोसानसँगको सहकार्यमा आधुनिक र सुविधा सम्पन्न शौचालयको निर्माण गरेको छ।




उक्त शौचालयको उद्घाटन आज गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बढी भिडभाड हुने स्थान, पार्क लगायतका ठाउँमा आधुनिक शौचालय निर्माणलाई काठमाडौं महानगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिए।
‘यदि तपाईंहरू त्रिपुरेश्वरको बाटो हुँदै ओहोरदोहोर गर्दै हुनुहुन्छ र शौचको आवश्यक पर्यो भने अब तपाईंले स्वचालित प्रविधिमा आधारित सुविधा भएको शौचालयको प्रयोग ढुक्कसँग गर्नुसक्नुहुनेछ,’ प्रमुख शाक्यले भने,‘हेर्दा सफा देखिने शौचालयमा महिनावरी भएका महिलाका लागि स्यानिटरी प्याड प्रयोग गर्न र त्यसको व्यवस्थापन गर्न मिल्ने डिस्पोजल मेसिनको समेत यहाँ व्यवस्था गरिएको छ।’
प्रमुख शाक्यले आज उद्घाटन गरेको शौचालय मात्रै होइन महानगरपालिकाले निर्माण गर्ने हरेक शौचालय दृष्टिविहीन, शारीरिक रूपमा फरक क्षमता भएका नागरिकका लागिसमेत सहज हुने गरी निर्माण गर्ने योजना रहेको बताए।
उनले अब निर्माण हुने शौचालय स्यानिटरी प्याड, पर्याप्त पानी, बत्तीको समेत व्यवस्थासहितका हुने जानकारी पनि दिए।
‘काठमाडौं महानगरपालिकाले जति पनि सार्वजनिक पार्क निर्माण गरेको छ, ती सबै ठाउँमा अनिवार्य शौचालय निर्माण गरेको छ,’ शाक्यले भने, ‘हरियालीको आनन्द लिँदै पार्क घुम्न आउने हरेक नागरिकले शौचालयका लागि घर फर्किनु पर्ने वा नजिकका घरमा छिर्नुपर्ने बाध्यता नहोस् भनेर हामीले निर्माण गरेका हरेक पार्कमा पनि सेवाका लागि शौचालयको अनिवार्य व्यवस्था गरेका हौं।’
उनले वातावरणीय र जनस्वास्थ्यको पक्षलाई समेत ध्यानमा राखेर महानगरपालिकाले ३२ वटै वडामा यस्ता शौचालय निर्माण गर्दै जाने नीति लिएको जानकारी दिए।
‘सार्वजनिक शौचालय चाहिन्छ तर मेरो घर अगाडि हुनुहुँदैन भन्ने चलन थियो,’ शाक्यले भने, ‘यस्तो घनाबस्तीका बीचमा हामीले आधुनिक शौचालयको निर्माण गरेर नमूना कामको थालनी गरेका छौं। घनाबस्तीको बीचमा पनि अब शौचालय बनाउनुपर्छ भन्ने मानसिकताको विकास यो नमूना शौचालयको उद्घानसँगै भएको छ।’
प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले सबै वडामा सुविधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अनुसार नै यस अघि चक्रपथ सडक खण्डको स्वयम्भू बुद्धपार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको सञ्चालनमा ल्याएको जानकारी दिए।
उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले यस्ता शौचालय ३२ वटै वडामा निर्माण गर्ने योजना रहेको बताइन्।
उनले शौचालयमा १५ हजार लिटरको आकाशे पानी संकलन गर्ने, शौचालयबाट आउने दिशाजन्य लेदोलाई बायोडाइजेस्टरमार्फत ग्याँस निकाल्ने जस्तो प्रविधिको समेत प्रयोग गरेकाले पनि यो शौचालय आधुनिक भन्न सकिने बताए।
एरोसानका नेपाल प्रतिनिधि प्रकाश अमात्यले पनि अत्याधुनिक सेवा दिने उदेश्यले आधुनिक शौचालय निर्माणको अभियान अन्तर्गत यो शौचालय निर्माण भएको जानकारी दिए।
उनका अनुसार यो शौचालय ५ सय स्क्वायर फिटमा निर्माण भएको छ। जसको लम्बाइ २८ फिट र चौडाइ १२ फिट छ।
‘घनाबस्ती र घर वरिपरि शौचालय निर्माण गर्दा दुर्गन्ध फैलिन्छ भन्ने पुरानो मान्यतालाई काठमाडौं महानगरपालिकाको सहकार्यमा यस्ता शौचालय निर्माण गरेपछि तोड्न सफल भएका छौं,’ उनले भने, ‘यहाँ हामीले शौचलय मात्रै होइन शौचालयसँग जोडिएको वातावरणीय र जनस्वास्थ्यको पक्षलाई पनि ध्यान दिएर निर्माण गरेका छौं।’
उनले करिब ३५ लाखको लगानीमा यो शौचालय निर्माण भएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्