२०औं संस्करणको आहा ! रारा गोल्डकप माघ ६ देखि १५ सम्म
२६ पुस, पोखरा । २०औं संस्करणको आहा ! रारा गोल्डकप माघ ६ गते देखि १५ गते सम्म पोखरा रंगशालामा हुने भएको छ । आयोजक सहारा क्लब पोखराले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी गोल्डकपको तयारीमा जुटेको बताएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबहरुको सहभागीता रहने प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक सहरा क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले जानकारी दिए ।
प्रतियोगितामा संकटा क्लब, विभागीय टिम नेपाल पुलिस फुटबल क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, रुस्लान थ्रिस्टार क्लब, मनाङ मस्याङ्दी क्लब, हिमालयन शेर्पा क्लब, विवाइएएससी मिनेसोटा अमेरिका, हिमालयन शेर्पा क्लब र आयोजक सहारा क्लबकोे सहभागीता रहने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।
गत वर्ष भएको १९ औं संस्करणको प्रतियोगितामा संकटा क्लब विजेता र अफ्रिकन रुट एसोसिएसन डाउल्ला क्यामरुन उपविजेता भएको थियो ।
आयोजक सहाराले प्रतियोगिता सञ्चालन गर्न १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ लाग्ने अनुमान गरेको छ । प्रतियोगिताबाट आम्दानी १ करोड ३६ लाख १ हजार रुपैयाँ हुने अनुमान गरेको पनि आयोजक सहाराले बताएको छ ।
२०५५ सालमा पोखरामा स्थापना भएको सहारा क्लबले सञ्चालन गर्दै आएको गोल्डकपको पहिलो संस्करण देखि नै मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ रहेको छ ।
सहारा क्लबले क्याराभान गोल्ड कप सहित २१ वर्ष देखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ । क्लबले प्रतियोगिताबाट बचत हुन आएको रकम क्लबद्धारा सञ्चालित सूर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ ।
एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रीत रहेको सहारा क्लबका वरिष्ठ उपाध्यक्ष केशवराज बरालले बताए ।
स्वास्थ्य मापदण्ड पूरा गरि प्रतियोगिता
आयोजक सहारा क्लब पोखराले कोरोना संक्रमणलाई ध्यानमा राखेर २० औं संस्करणको आहा ! रारा गोल्डकप स्वास्थ्य मापदण्ड पूरा गरेर गरिने बताएको छ ।
पोखरामा १६ हजार ५ सय क्षमताको फुटबल स्टेडियम रहेकोले स्वास्थ्य मापदण्ड पूरा गरेर प्रतियोगिता सञ्चालन हुने क्लबका अध्यक्ष गुरुङले बताए ।
गृहमन्त्रालयले पछिल्लो समयमा कोरोना संक्रमण बढेपछि सोमबार मेला महोत्सव नलगाउन र २५ जना भन्दा बढी भेला हुन नपाइने व्यवस्था कार्यान्वयनकालागि निर्देशन दिएको छ ।
सरकारले प्रतियोगिता सञ्चालन गर्न अनुमति दिएमा स्वास्थ्य मापदण्ड पुरा गरेर प्रतियोगिता सञ्चालन गर्ने आयोजक सहारा क्लबका अध्यक्ष गुरुङले बताए ।
१९ औं संस्करणको गोल्डकपबाट १३ लाख बचत
प्रतियोगिता सञ्चालन गरेर बचत भएको रकमले फुटबल एकेडेमी सञ्चालन गर्दै आएको सहारा क्लबले १९ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताबाट १३ लाख ४९ हजार ४ सय ४७ रुपैयाँ ३४ पैसा बचत गरेको जनाएको छ ।
प्रतियोगिताबाट आम्दानी ७६ लाख ५० हजार ५ सय ४७ रुपैयाँ ५७ पैसा र खर्च ६३ लाख १ हजार १ सय ९९ रुपैयाँ २३ पैसा भएको आयोजकले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्