१५७ ह्वेलको उद्धार प्रयास असफल, विशेषज्ञ भन्छन्- छटपटिएको हेर्नुभन्दा मार्नु ठीक

विशेषज्ञहरुले अष्ट्रेलियाको तस्मानिया राज्यको एक समुद्री तटमा फसेका १५७ वटा ह्वेललाई उद्धार गर्न सकिने आश मारेका छन् । उनीहरु ती ह्वेललाई अब मार्नु नै ठीक हुने निष्कर्षमा पुगेका छन् ।
११ फागुन, काठमाडौं । विशेषज्ञहरूले तस्मानियाको एक दुर्गम समुद्री तटमा फसेका १५७ वटा ह्वेललाई उद्धार गर्ने आशा मारेका छन् । १८ फेब्रुअरी अर्थात् फागुन ६ गते दिउँसो तस्मानियाको आर्थर रिभर क्षेत्रको उत्तर–पश्चिमी किनारमा ह्वेलहरू फसेको फेला परेका थिए । त्यसपछि पशु चिकित्सकहरूसहित धेरैजना विशेषज्ञहरु त्यहाँ पुगेका थिए ।




घटनाको निगरानी गरिरहेकी शेले ग्राहमले समुद्र र मौसम प्रतिकूल भएका कारण उद्धार प्रयास असफल भएको बताइन् । यी चुनौतीपूर्ण समुद्री अवस्था केही दिनसम्म रहन सक्ने अनुमान गर्दै उनले भनिन्, ‘हामी आज बिहान समुद्रमा गयौं र दुई ह्वेललाई फिर्ता पानीमा पठाउने प्रयास ग¥यौं, तर सफल हुन सकेनौं । समुद्री लहरले धकेलेका कारण ती फेरि तटमै फर्केर अड्किरहेका छन् ।’
तस्मानिया राज्यको प्राकृतिक स्रोत तथा वातावरण विभागका अनुसार त्यहाँ फसेका ह्वेल ‘फल्स किलर ह्वेल’हरु हुन् ।
बुधबार बिहानसम्म १३६ वटा ह्वेल जीवित थिए । प्रारम्भिक अनुमानअनुसार करिब ९० वटा ह्वेललाई बचाउन सकिने आशा गरिएको थियो ।
तर समय बित्दै जाँदा उनीहरुलाई बचाउने आश पनि मर्दै गयो । समुद्री जीव विज्ञानिक क्रिस कार्लयनले फसेका ह्वेलहरूलाई उद्धार गर्न नसकिने भएकाले अब मार्नु नै अन्तिम विकल्प भएको बताएका छन् । उनले भने, ‘हामीले गर्न सक्ने सबै वैकल्पिक उपायहरू असफल भइसकेका छन् । यी जनावरहरू जति लामो समयसम्म तटमा फसिरहन्छन्, त्यति नै पीडामा रहनेछन् । उनीहरुको छटपटाहट हेरिरहनुभन्दा अब मार्नु नै अन्तिम विकल्प छ ।’
समुद्रतटसम्म पुग्न कठिनाइ, खराब मौसम तथा उद्धारका लागि आवश्यक उपकरण ल्याउने चुनौतीहरूले उद्धार प्रयासलाई झन् जटिल बनाइदिएको विशेषज्ञहरु बताउँछन् ।
आधा रातदेखि नै फस्न थालेका थिए ह्वेल
आर्थर रिभर क्षेत्रकी बासिन्दा जोस्लिन फ्लिन्टका अनुसार उनका छोराले आधा राततिर समुद्री तटमा फसेका ह्वेलहरू देखेका थिए । उनले आफू बिहानपख घटनास्थलमा पुगेको र उद्धार असम्भवजस्तै देखिएको बताइन् ।
‘ती ह्वेलहरू छटपटाइरहेका थिए । उनीहरू मर्न थालेका थिए, हिलोमा डुबिरहेका थिए,’ उनले भनिन्, ‘यहाँ साना–ठूला ह्वेलहरू फसेका छन् । यो अत्यन्त दुखद घटना हो ।’
ह्वेल पृथ्वीका सबैभन्दा ठूला जीवमध्येको एक हो । तस्मानियाका तटमा फसेका ह्वेलहरूमध्ये सानाको तौल ५०० किलोसम्म छ । ठूला वयस्क ह्वेलहरूको तौल भने करिब ३ मेट्रिक टनसम्म छ ।
प्राकृतिक स्रोत तथा वातावरण विभागका अधिकारी ब्रेन्डन क्लार्कका अनुसार १९७४ पछि तस्मानियामा फल्स किलर ह्वेल फस्सेको यो पहिलो घटना हो । त्यतिबेला उत्तर–पश्चिमी तटमा १६० भन्दा बढी ह्वेलहरू फसेका थिए ।
तस्मानियामा प्रायः पायलट ह्वेलहरू फस्ने गरेको पाइन्छ । क्लार्कले यस घटनाको कारणबारे कुनै अनुमान गर्न अस्वीकार गरे । मृत ह्वेलहरूको शव परीक्षण गरेर केही संकेतहरू खोज्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
नौलो होइन ह्वेल फस्ने घटना
अष्ट्रेलियाको इतिहासमा सबैभन्दा ठूलो ह्वेल फसेको घटना सन् २०२० मा पश्चिमी तटको म्याक्वारी बन्दरगाह नजिक भएको थियो । त्यतिबेला ४७० वटा लामो फिन भएका पायलट ह्वेलहरू तटमा फसेका थिए ।
सन् २०२२ मा पनि यही बन्दरगाह नजिकै २३० वटा पायलट ह्वेलहरू फसेका थिए । दुवै घटनामा अधिकांश ह्वेलहरू मरेका थिए ।
सन् २०२४ मा पश्चिमी अष्ट्रेलियाको एक समुद्र तटमा झन्डै १६० वटा पायलट ह्वेलहरू फसेका थिए । त्यतिबेला पनि धेरैजसो मरेका थिए ।
ह्वेलहरू किन समुद्री तटमा फस्छन् भन्ने कुराको स्पष्ट कारण थाहा छैन । तर विशेषज्ञहरु उनीहरुले बाटो बिर्सनु, रोग वा वृद्धावस्था हुनु, घाइते हुनु, समुद्री शिकारीहरूबाट भाग्न खोज्नु वा खराब मौसम लगायतका कारण हुन सक्ने अनुमान गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्