१५० अंकले बढ्यो नेप्से परिसूचक
२५ पुस, काठमाडौं । निरन्तर उकालो लागेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २२ सय विन्दु पार गरेको छ ।
पछिल्ला चार कारोबार दिनमा नेप्से परिसूचक १५०.६९ अंकले वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार आज नेप्से आइतबारको तुलनामा ४७.१५ अंकले वृद्धि भएर २२११.७६ विन्दुमा पुगेको छ । आज कारोबार रकम भने घटेको छ ।
आज २५७ धितोपत्रको एक करोड ७६ लाख ७६ हजार २०६ कित्ता पाँच अर्ब ३१ करोड ४३ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ । आइतबार ५ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।
पुस मसान्तमा बैंकको ऋण र सरकारी कर तिर्नुपर्ने हुन्छ । तर, पछिल्लो समय बजारमा त्यस्तो देखिँदैन । पछिल्लो समय बजार लगातार उकालो लागेको छ । बजार लगातार बढ्दै जाँदा नयाँ लगानीकर्ताहरू पनि उत्साहित हुने गर्छन् । त्यसले पनि बजारमा सकारात्मक प्रभाव देखिएको छ ।
यसदिन स्वाभिमान लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सम्पत्ति सर्वाधिक गुमाएका छन् ।
स्वाभिमान लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ५९ रुपैयाँ घटेर एक हजार ५९५ रुपैयाँ कायम भएको छ । त्यस्तै धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ३९ रुपैयाँ घटेर एक हजार ५६० रुपैयाँ कायम भएको छ ।
आज आठ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटन समूहको परिसूचक ०.१७ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ ।
सर्वाधिक परिसूचक वृद्धि हुनेमा जलविद्युत् समूह रहेको छ । यो समूहको परिसूचक ४.९४ प्रतिशत घटेको छ ।
प्रतिक्रिया दिनुहोस्