ह्युमपाइप राखेर मेलम्ची तर्ने वातावरण तय गर्दै नगरपालिका
सिन्धुपाल्चोक, १४ असोज (रासस) ः मेलम्ची नगरपालिकाले अवरुद्ध सडक खुलाउँदै अस्थायीरूपमा ह्युमपाइप हालेर अस्थायी पुल निर्माणको काम थालेको छ ।
मेलम्ची नगर उद्योग वाणिज्य सङ्घ तथा स्थानीयवासीको आग्रहपछि उपभोक्ता समितिमार्फत नगरपालिकाले बजेट विनियोजन गरी ह्युमपाइप राख्ने काम भइरहेको उपभोक्ता समितिका सचिव जयराम दुलालले जानकारी दिनुभयो ।
बाढीले पुल बगाउँदा मेलम्ची नवलपुर, ज्यामिरे, शिखरपुर, पाँचपोखरी जानका लागि सडक सञ्जाल टुटेको थियो भने मेलम्ची दुवाचौर, केउरानी, मानेखर्कलगायतका स्थानमा जानका लागिसमेत वैकल्पिक व्यवस्था नहुँदा स्थानीयवासीले दुःख भोग्न परेको थियो ।
चाडपर्व नजिकिँदै गर्दासमेत बाटोका कारण व्यापार गर्न नपाएको र सधँै चहलपहल हुने मेलम्ची बजार यसपालि सुनसान भएको भन्दै जतिसक्दो छिटो सडक सञ्चालनमा ल्याउन व्यापारीले नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका थिए ।
“ह्युमपाइप हाल्ने काम सुरु भएको छ । बढीमा एक हप्ताको समय दिएका छौँ । पुल निर्माण भएपछि आवतजावतमा सहजता हुनेछ”, मेलम्ची नगरपालिकाका इञ्जिनीयर जितबहादुर कार्कीले भन्नुभयो ।
यता उपभोक्ता समितिले भने पाँच दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेर काम गरिरहेको छ । “नगरपालिकाले दिएको एक हप्ताको समय हामीलाई पर्याप्त छ ।
जतिसक्दो छिटो काम सक्ने लक्ष्यका साथ काम गरिरहेका छौँ । पाँच दिनभित्र सडक सञ्चालनमा ल्याउने प्रयत्नमा हामी छौँ”, समितिका अध्यक्ष तारा बानियाँले भन्नुभयो । –––
प्रतिक्रिया दिनुहोस्