हेटौंडामा पनि अनधिकृत संरचना हटाउनका लागि ३५ दिने सूचना जारी

१५ भदौ, काठमाडौं । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा अतिक्रमण र मापदण्डविपरीत बनेका संरचना हटाउन कार्यदल गठन भएको छ ।

उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले नगरका सम्पूर्ण वडामा नियमविपरीत निर्माण भएका संरचना मूल्यांकन र अनुगमनका लागि हेटौंडा– १० का अध्यक्ष फुर्वा दोर्जे लामाको संयोजकत्वमा अव्यवस्थित संरचना व्यवस्थापन कार्यदल गठन गरेको हो ।

frontline

बैठकले संरचनाहरू हटाउनका लागि ३५ दिने सूचना जारी गरी कामलाई अघि बढाउने जनाएको छ ।

कार्यदलले मुख्य गरी प्रदेशको राजधानी रहेको हेटौंडा बजार क्षेत्रमा रहेका अव्यवस्थित र अतिक्रमण गरी निर्माण भएका संरचनाको अवस्था र लगत संकलन गरी कार्यान्वयनका लागि प्रतिवेदन तयार पार्ने नगरप्रमुख लामाले बताइन् ।

राजमार्ग क्षेत्र र भित्री सडक अतिक्रमण र उपमहानगरपालिकाको मापदण्डविपरीत निर्माण भएका संरचनाको मूल्यांकन गर्ने र हटाउने उनले जानकारी दिइन् ।

नगर क्षेत्रमा नक्सा पास नभई बनेका सानाठूला टहराहरू स्वस्फूर्त रूपमा हटाउन ३५ दिने सूचना प्रकाशन गरेसँगै कार्यदलले काम शुरू गर्ने महानगरले जनाएको छ ।

नगर प्रमुख लामाका अनुसार सूचना प्रकाशनपछि त्यस्ता संरचना नहटाएमा उपमहानगरले उपकरण प्रयोग गरी हटाउने तयारी छ ।

‘हामी सुन्दर शहर निर्माणको अभियानमा छौं । अव्यवस्थित ढंगबाट निर्माण भएका संरचनाले बजारको सुन्दरतामा कमी ल्याएको र कानूनविपरीत रहेकाले हटाउने तयारी थालेका हौं,’ उनले भनिन् ।

कार्यपालिका बैठकबाट गठित कार्यदलको सदस्यमा हेटौंडा-१ बाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्य ईश्वरी रसाइली, हेटौंडा- २ का  सुरज बर्तौला, हेटौंडा- ४ का जेएन श्रेष्ठ र सरोकारवाला निकाय मकवानपुर उद्योग वाणिज्य संघका एक सदस्य रहनेछन् ।

बैठकले हेटौंडा-१० मा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई हेटौंडा– १ मा सार्ने निर्णय पनि गरेको छ ।

बसपार्क क्षेत्रमा निर्माण भैरहेको बस टर्मिनल निर्माणको काम तरकारी बजारका कारण असहज भएको भन्दै कार्यपालिका बैठकले अहिलेलाई हेटौंडा- १ को राप्ती कोरिडोर क्षेत्रमा तरकारी बजार सार्ने निणर्य गरेको नगरप्रमुख लामाले जानकारी दिइन् ।

यस्तै  उपमहानगरको कार्यपालिका बैठकले गत साउनमा  हेटौंडामा भएको नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशनको खर्च स्वरूप १० लाख रुपैयाँ सहयोग रकम दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here