हामी तेस्रो विश्वयुद्धमा प्रवेश गरिसक्यौँ

समाचार सारांश

  • लेखले तेस्रो विश्वयुद्धको सम्भावनाबारे चर्चा गरेको छ, पश्चिमा र रुसबीचको द्वन्द्व बढ्दै गएको विश्लेषण छ।
  • रुसले आफ्नो आन्तरिक र अन्तर्राष्ट्रिय गठबन्धनलाई सुदृढ पार्न, र पश्चिमाको सूचना सञ्जाल तोड्न आवश्यक रहेको औंल्याइएको छ।
  • लेखले रुसलाई युद्धमा विजय हासिल गर्नका लागि परम्परागत हतियार र आणविक हतियार प्रयोग गर्न तयार रहन सुझाव दिएको छ।

मानव जाति तेस्रो विश्वयुद्धतर्फ लम्किन थालेको त होइन ? अहिले केहीले यस्तो चर्चा गर्न थालेका छन् । २०औँ शताब्दीकै जस्ता घटनाहरू कल्पना गर्न थालेका छन् । तर युद्ध ठ्याक्कै त्यस्तो कहिल्यै हुँदैन । युद्धको पनि आफ्नै व्याकरण हुन्छ । अबको युद्ध सन् १९४१ को जुनमा नाजी जर्मनीले सोभियत सङ्घमा हमला सुरु गरेको अपरेसन बार्बाडोस्सा वा क्युबाको मिसाइल सङ्कट जस्तै आणविक आमनेसामनेबाट सुरु नहुन सक्छ । 

खासमा भन्ने हो भने नयाँ विश्वयुद्ध यसअघि नै सुरु भइसकेको छ । अहिलेसम्मका घटनाक्रमहरूलाई मानिसले राम्रोसँग ठम्याउन मात्रै बाँकी छ ।

frontline

अझ रुसका लागि त युद्धपूर्वको अवधि सन् २०१४ मै अन्त्य भएको हो । यस्तो अवधि चीनका लागि सन् २०१७ तथा इरानका लागि सन् २०२३ मा अन्त्य भएको हो । त्यसपछिका युद्ध आधुनिक स्वरूपमा झनै सघन हुँदै गइरहेका छन् । यो नयाँ शीतयुद्ध होइन । 

सन् २०२२ देखि पश्चिमा मुलुकहरूले रुसविरुद्धको अभियान निर्णायक बनाउँदै लगेका छन् । युक्रेन मामिलालाई लिएर नेटो मुलुकहरूसँगको प्रत्यक्ष आणविक झडपको खतरा दिनानुदिन बढिरहेको छ । ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको पुनरागमनले भिडन्त रोक्ने केही अवसर पक्कै सिर्जना गरेको थियो । तर सन् २०२५ को मध्यसम्म आइपुग्दा अमेरिका र युरोपका युद्ध पिपासुहरूले युद्धलाई पुनः पेचिलो बनाउनेतिर धकेलिसकेका छन् ।

अहिलेको युद्धले संसारका मुख्य शक्तिहरूलाई संलग्न गराउँछ । अमेरिका र उसका साझेदारहरू एकापट्टि हुनेछन् भने चीन र रुस अर्कोपट्टि हुन्छन् । यसको आकारको हिसाबले मात्रै नभएर भविष्यको शक्ति सन्तुलनमा पनि यो युद्ध वैश्विक स्तरको हुँदैछ । पश्चिमा मुलुकहरू चीनको उदय तथा रुसको पुनरुत्थानलाई आफ्नो अस्तित्वमाथिको खतरा ठान्छन् । आर्थिक तथा वैचारिक क्षेत्रमा पश्चिमाहरूले गर्ने आक्रमणले नयाँ वैश्विक बदलावलाई रोक्ने प्रयास गरिरहेको छ ।

यो युद्ध पश्चिमाहरूका लागि केवल वैचारिक वा भूराजनीतिक सङ्कट मात्र नभएर अस्तित्वसँग जोडिएको प्रश्न बनेर आइपुगेको छ ।

यो युद्ध पश्चिमाहरूका लागि केवल वैचारिक वा भूराजनीतिक सङ्कट मात्र नभएर अस्तित्वसँग जोडिएको प्रश्न बनेर आइपुगेको छ । आर्थिक, राजनीतिक वा सांस्कृतिक कुनै पनि रूपमा पश्चिमाहरू वैकल्पिक सभ्यताका मोडल स्विकार्न तयार छैनन् । अमेरिका तथा युरोपका सम्भ्रान्तहरू आफ्नो प्रभुत्व कायमै राख्न प्रतिबद्ध छन् । विश्वदृष्टिमा विविधता, सभ्यतागत स्वायत्तता तथा राष्ट्रिय सार्वभौमिकतालाई विकल्पको रूपमा नभएर खतराको रूपमा हेर्ने गरिएको छ ।

यसले पश्चिमाहरूको व्यवहारको गम्भीरता देखाउँछ । तत्कालीन अमेरिकी राष्ट्रपति जो वाइडेनले ब्राजिलका राष्ट्रपति लुलासँगको कुराकानीमा आफूले रुसलाई ‘ध्वस्त पार्न’ चाहेको बताएका थिए । यस्तो अभिव्यक्तिमार्फत ट्रम्पले ‘रणनैतिक पराजय’ जस्ता चर्चामा रहेका सन्दर्भ पछाडि लुकेको तथ्य उजागर गरेका थिए । पश्चिमा समर्थित इजरायलले उक्त विचार कति जब्बर छ भन्ने प्रमाण सुरुमा गाजा तथा लेबनान हुँदै अन्तिममा इरानमाथि गरेको आक्रमण मार्फत देखाइसकेको छ । 

गत जुन महिनाको सुरुमै यस्तै रणनीति रुसी वायुसेनाका अखडामा आक्रमण गर्दा प्रयोग भएको थियो । प्रतिवेदनअनुसार यी दुवै हमला परोक्ष रूपमा अमेरिकी तथा बेलायती संलग्नतामा भएको थियो । पश्चिमा रणनीतिकारहरूका लागि रुस, इरान, चीन र दक्षिण कोरिया एउटै ध्रुवका शक्ति हुन् । यही विश्वास उनीहरूको सैन्य योजनामा पनि प्रयोग हुने गरेको छ ।

यस्ता खेलमा सम्झौताको कुनै ठाउँ राखिएको छैन । हामीले अहिले जे देख्दछौँ, ती अस्थायी सङ्कट मात्रै होइनन् । यी त निरन्तर बढिरहेका द्वन्द्व हुन् । पूर्वी युरोप र मध्यपूर्व अहिलेका मुख्य दुई ‘फ्ल्यास प्वाइन्ट’का रूपमा छन् । तेस्रो बिन्दुको रूपमा धेरै अघिदेखि नै पूर्वी एसिया खासगरी ताइवानलाई ठम्याइएको छ । रुस अहिले युक्रेनमा प्रत्यक्ष संलग्न छ । मध्यपूर्वमा पनि गहिरो सरोकार राख्छ । रुस प्रशान्त महासागरको तनावमा पनि संलग्न हुनसक्छ ।

अहिले चलेको युद्ध केवल कब्जाका लागि हुँदै होइन, यसले खोजेको अस्थिरता हो । नयाँ रणनीतिमार्फत पश्चिमाहरू आन्तरिक भद्रगोल सिर्जना गर्न चाहन्छन् । यसका लागि आर्थिक विनाश, सामाजिक विग्रह तथा मनोवैज्ञानिक आतङ्क फैलाउने हो । पश्चिमाहरू रुसलाई युद्धभूमिमा हराउने भन्दा पनि बिस्तारै आन्तरिक रूपमा विघटनको बाटोमा लैजान चाहन्छन् । 

युक्रेनमा भइरहेको युद्ध पश्चिम युरोप र रुसबिच बन्दै गएको छ । साथै संयुक्त रूपमा आक्रमणको योजना बनाइरहेका छन् । युक्रेनलाई बहाना बनाएर ब्रसेल्सले बृहत् युद्धको तयारी गर्दैछ ।

यस्ता रणनीतिहरूमा धेरै थोक मिसिएका छन् । पूर्वाधार तथा आणविक संरचनामा ड्रोन आक्रमण गर्ने गरिएको छ । राजनीतिक हत्यामा कसैलाई अछुतो राखिएको छैन । पत्रकार, वार्ताकार, वैज्ञानिक तथा उनीहरूका परिवार समेतलाई क्रूरतापूर्वक निशानामा पारिएको छ । आम मानिसको बस्ती, विद्यालय तथा अस्पतालमा झुक्किएर नभई जानाजान हमला गरिएको छ । यो पूर्ण युद्धमा फेरिइसकेको छ ।

रुसीहरूलाई केवल दुस्मन मात्रै नभएर निम्न कोटिको प्रजातिका रूपमा प्रस्तुत गरिएको छ । पश्चिमा समाज यस्तो धारणा स्विकार्न अभिशप्त छ । सूचनामाथिको नियन्त्रण, सेन्सर तथा इतिहासको आफूखुसी तोडमरोड गरेर युद्धको आवश्यकता सिद्ध गर्न खोजिएको छ । प्रभुत्वशाली भाष्यविरुद्ध प्रश्न गर्ने प्रत्येक व्यक्ति, संस्थालाई देशद्रोही घोषणा गरिएको छ ।

यस क्रममा पश्चिमा मुलुकहरू आफ्ना प्रतिद्वन्द्वीहरूका खुला प्रणालीमा घुसेर आफ्नो स्वार्थ पुरा गर्दैछन् । दशकौँसम्म अन्य मुलुकको निर्वाचनमा अहस्तक्षेपको नीति लिएको रुस अहिले रक्षात्मक अवस्थामा छ । अब अँध्यारो बादल छाँटिएर जाने निश्चित छ । जसरी पश्चिमाहरूले योजनाबद्ध आक्रमण गर्दैछन्, त्यसैगरी रुसले पनि उनीहरूको एकता खलबल्याउने समय आइसकेको छ । 

युरोपेली सङ्घ पक्कै एक ढिक्का शक्ति होइन । हंगेरी, स्लोभाकियालगायत दक्षिणी युरोपका मुलुकहरू युद्ध अघि बढाउन चाहँदैनन् । अब युरोपभित्रका यस्ता विभाजनहरू बढाउँदै लैजानुपर्ने भएको छ । पश्चिमाहरूको शक्ति उनीहरूका सम्भ्रान्तहरूको एकता तथा आम मानिसमा उनीहरूको वैचारिक नियन्त्रणमा टिकेको छ । 

भ्रमको समय सकिएको छ । हामी अहिले विश्व युद्धमा छौँ । अबको आगामी निर्विकल्प बाटो भनेको दृढ र रणनीतिक गतिविधि मात्रै हो ।

तर जति नै बलियो भनिए पनि उनीहरूको एकता अभेद्य पक्कै छैन । ट्रम्प प्रशासनले तत्कालको कार्यनीतिक अवसर देखाएको छ । राष्ट्रपतिको रूपमा ट्रम्पको पुनरागमनले यसअघि नै युक्रेनमा अमेरिकी संलग्नता कम भइसकेको छ । तथापि ट्रम्पको चाला हेरेर मक्ख परिहाल्नुपर्ने अवस्था छैन । अमेरिकी सम्भ्रान्तहरू अझै रुसप्रति धेरै आक्रामक छन् । रुस र अमेरिकाबिच तत्काल तनाव मत्थर हुने कुनै सम्भावना छैन ।

युक्रेन युद्ध पश्चिम युरोप र रुसबिचको बन्दैछ । बेलायती र फ्रान्सेली क्षेप्यास्त्रहरू यसअघि नै रुसी निशानामा प्रहार भइसकेका छन् । नेटोको खुफिया प्रणाली युक्रेनका सैन्य कारबाहीमा गहन रूपमा जोडिएको छ । युरोपेली सङ्घ आबद्ध मुलुकहरू युक्रेनी फौजलाई तालिम दिइरहेका छन् र संयुक्त रूपमा आक्रमणको योजना बनाइरहेका छन् । युक्रेनलाई बहाना बनाएर ब्रसेल्सले बृहत् युद्धको तयारी गर्दैछ ।

अब सोध्नैपर्ने भएको छ- पश्चिम युरोप रक्षाको तयारी गर्दैछ कि आक्रमणको ? 

त्यहाँका धेरै नेताहरूले रणनैतिक मूल्याङ्कनको क्षमता गुमाइसकेका छन् । अब केवल शत्रुता आजको वास्तविकता भइसकेको छ । अब उनीहरूको लक्ष्य रुसको घेराबन्दीमा मात्रै सीमित छैन । उनीहरू अब सधैँका लागि ‘रुसी प्रश्नको समाधान’ चाहन्छन् । अब सहजै सामान्य अवस्थामा फर्किने भ्रम खारेजयोग्य भइसकेको छ ।

रुस लामो युद्धमा प्रवेश गरिसकेको छ । अबको युद्ध सन् १९४५ को जस्तो समाधानमा पुग्दैन । शीतयुद्धजस्तो सहअस्तित्वमा समेत टुङ्गिँदैन । आउँदो दशक ज्यादै उथलपुथलकारी हुनेवाला छ । रुसले नयाँ विश्व व्यवस्थामा आफ्नो सम्मानजनक हिस्साका लागि लड्नै पर्ने भएको छ । 

  • यस्तो अवस्थामा रुसले के गर्नुपर्छ ?

पहिलो, रुसले आफ्नो आन्तरिक मोर्चा सुदृढ गर्नुपर्छ । आम परिचालनको ठुलो खाँचो छ । तर त्यसका लागि सोभियत कालको जस्तो जडशैलीले काम चल्दैन । अब रुस थप चनाखो हुँदै आर्थिक, प्राविधिक, जनसांख्यिकलगायत सबै क्षेत्रमा समय सापेक्ष परिमार्जित हुँदै जानु आवश्यक छ । रुसको राजनीतिक नेतृत्व ठुलो रणनैतिक सम्पत्तिको रूपमा छ । आगामी दिनमा पनि यो दूरदृष्टिसहित कायम रहनु आवश्यक छ ।

यसैगरी रुसको आन्तरिक एकता, सामाजिक न्याय तथा देशभक्तिको प्रवर्द्धन पनि उत्तिकै महत्त्वपूर्ण छ । प्रत्येक नागरिकले स्वामित्वको अनुभव गर्नु आवश्यक छ । वित्तीय, औद्योगिक तथा प्राविधिक नीतिहरू दीर्घकालीन युद्धको यथार्थ अनुकूल परिमार्जित हुनु आवश्यक छ । अब जन्मदर वृद्धि तथा बसाइसराइमा नियन्त्रणजस्ता नीतिले घट्दो जनसङ्ख्याको प्रवृत्ति नियन्त्रण गर्नुपर्नेछ ।

दोस्रो, रुसले आफ्नो अन्तर्राष्ट्रिय गठबन्धन पनि मजबुत बनाउनुपर्नेछ । बेलारुस पश्चिमतर्फ सशक्त साझेदारको भूमिकामा छ । उत्तर कोरियाले पूर्वमा आफूलाई भरपर्दो रूपमा प्रस्तुत गरेको छ । रुसलाई दक्षिणमा त्यस्तै मित्रराष्ट्रको आवश्यकता छ । यो अभावको अनिवार्य पूर्ति गर्नै पर्नेछ ।

इजरायल–इरान युद्धले महत्त्वपूर्ण पाठ सिकाएको छ । हाम्रा प्रतिद्वन्द्वीहरू बलियो सहकार्य गर्छन् । हामीले पनि त्यही अनुरूप गर्नुपर्ने हुन्छ । यसो भन्दै गर्दा नेटोको अन्धाधुन्ध अनुकरण पक्कै भनिएको होइन । आफ्नै मोडलको रणनैतिक सहकार्य आवश्यक छ ।

रुसले चलाखीपूर्वक ट्रम्प प्रशासनसँग पनि व्यवहार गर्दै जानुपर्ने हुन्छ । यसो गर्दा युरोपमा अमेरिकाको युद्धको पहल कमजोर हुन्छ भने त्यो अवसर गुमाउनु हुँदैन । तर यसो गर्दा कार्यनीति र रणनीतिमा झुक्किनु भने विल्कुल हुँदैन । अमेरिकाको विदेश नीति रुसप्रति आधारभूत रूपमै प्रतिद्वन्द्वी छ भन्ने बिर्सिनु हुँदैन ।

बेलायत, फ्रान्स तथा जर्मनी जस्ता युरोपेली शक्तिलाई उनीहरूको कमजोरी बुझाउनुपर्छ । यस्तै सन्देश फिनल्याण्ड, पोल्याण्ड तथा अन्य वाल्टिक मुलुकलाई पनि पुर्‍याउनुपर्छ । कुनै प्रकारका भड्काउहरुलाई चुस्त र निर्णायक रूपमा प्रतिवाद गर्नुपर्छ ।

युद्ध अनिवार्य हुँदै जाने अवस्थामा अब रुस आफैँले पहिले आक्रमण गर्ने विकल्प पनि खुला राख्नुपर्छ । सुरुमा यस्तो आक्रमण परम्परागत हतियारको सहायतामा गर्नुपर्छ । आवश्यक पर्दा आणविक हतियार लगायत अन्य ‘विशेष साधन’को प्रयोगका लागि पनि तयार हुनुपर्छ । त्यसका परिणामबारे पनि सचेत रहनुपर्छ । अब आक्रमण रोक्ने काम निष्क्रिय वा सक्रिय दुवै तरिकाबाट गर्नुपर्छ ।

युक्रेनमा रुसको गल्ती नै धेरै समयको प्रतीक्षा गरेर भएको हो । ढिलाइले कमजोर भएको भ्रम सिर्जना गर्‍यो । अब त्यस्तो गल्ती दोहोरिनु हुँदैन । युद्धमा विजय भनेको भूमि कब्जा गरेर हुँदैन, दुस्मनको योजना ध्वस्त पारेर हुन्छ ।

अन्त्यमा, रुसले पश्चिमाको सूचनाको जालो तोड्नैपर्ने हुन्छ । अहिलेको युद्ध भनेको भाष्य, गठबन्धन तथा आम धारणा सबै मिसिएको हुन्छ । अब रुसले पनि फेरि अन्य मुलुकको आन्तरिक राजनीतिमा खेल्न सिक्नुपर्ने भएको छ । तर त्यस्तो संलग्नता आक्रमणकर्ताका रूपमा नभएर सत्यको रक्षकको रूपमा हुनुपर्छ ।

भ्रमको समय सकिएको छ । हामी अहिले विश्वयुद्धमा छौँ । आगामी निर्विकल्प बाटो भनेको दृढ र रणनीतिक गतिविधि मात्रै हो ।

आरटीबाट

तेस्रो विश्वयुद्धरुस युक्रेन युद्ध

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here