हनुमन्ते करिडोर निर्माणमा अबरोध पुगेका संरचनाहरु हटाउन थालिएको छ

 कोटेश्वरको जाम हटाउने, बस्ती डुबान रोक्ने, वातावरणीय र अन्य विभिन्न सुधार गर्ने उदेश्यका साथ भक्तपुरमा सुरु भएको हनुमन्ते करिडोर निर्माणमा अबरोध पुगेका संरचनाहरु हटाउन थालिएको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिले सुरु गरेको हनुमन्ते करिडोर निर्माणको क्रममा करिडोरको मापदण्ड भित्र रहेको संरचना हटाउन सम्बन्धित निकायलाई पटक पटक सूचना जारी गर्दा पनि अटेर गरे पछि त्यस्ता संरचनाहरु हटाएर करिडोर निर्माण कार्य अगाडि बढाएको हो ।

समितिले भक्तपुरको सल्लाघारी पुलदेखि मनोहरा नदी दोभानसम्मको करिब ११ किमिमा करिडोर निर्माण गर्ने गर्न सुरु गरेपछि राधेराधे पुलदेखि नयाँ थिमि बालकोट पुलसम्म २.८ किमि करिडोर निर्माणमा आएका विभिन्न विवादलाई सुल्झाउदै बालकोटसम्मको निर्माण पुरा गरेको छ ।

यो बिचमा केही भागमा स्थायी तथा अस्थायी संरचना बनाएर हनुमन्ते करिडोर निर्माणमा बाधा पुगेका र करिडोरको मापदण्ड भित्र परेका संरचनाहरु भने धमाधम भत्काएर करिडोर निर्माण सम्पन्न गर्न लागेको हो ।

हनुमन्ते करिडोर मापदण्ड भित्र संरचना निर्माण गरेको साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिज र नेपाल पेन्ट ईन्डष्ट्रिज प्रा.लि.को उद्योगको पर्खाल लगायतका भौतिक संरचनामा भत्काउन समितिले विगत दुईवर्षदेखि पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेको समितिका अध्यक्ष उद्धव तिमिल्सिनाले बताउनुभयो ।

प्रा.लि.ले पटक पटक एक साताको समय माग गर्ने गरेको तर समय दिदाँ पनि भौतिक संरचना नहटाई अटेर गर्दा करिडोर निर्माण मै बाधा पुग्ने भएपछि यहाँका संरचना डोजर लगाएर भत्काइएको उहाँले जानकारी दिनुभयो । एक साता अघिसम्म पनि सुर्यविनायक नगरपालिकाले सात दिनको समय दिएर अन्तिम पटक उक्त संरचना हटाउन सूचना जारी गरि पत्र पठाउँदा पनि अटेर गरेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार करिडोर निर्माणमा क्लष्टर बनाएर प्रत्येक क्लष्टरको उपभोक्ता समिति गठन गरेर निर्माण भइरहेको र तीनवटा क्लष्टरमा केही विवाद आए पछि सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको जिल्ला प्रशासन कार्यालयमा एक महिना अगाडि बसेको बैठक र त्यसपछि जिल्ला प्रशासन कार्यालयमा संघीय सांसद एवं पूर्व मन्त्री महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी प्रमेप्रसाद भट्टराई, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापा, विवादित क्षेत्रका दुवै नगरपालिकाका वडा अध्यक्षहरु शिवशरण खत्री, कमलनाथ आचार्य, प्रेम कुटुलगायत सरोकारवालाहरुसहितको छलफलले सम्बन्धित वडाको सहमनिमा करिडोर निर्माण अगाडि बढाउने र उपत्यका विकास प्राधिकरणसहितले करिडोर निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउने सहमति भए अनुसार नै बाँकी निर्माण कार्य सुरु भएको हो ।

हनुमन्ते करिडोर समय मै सम्पन्न नगर्दा करोडौको बजेट फिर्ता जाने, आयोजना अधूरो रहने, वर्षामा बस्ती डुबान हुने, सडकको जाम कायमै रहने र विकासमा अबरोध पुग्ने भएपछि आएका समस्या समाधान गर्दै करिडोर निर्माण अगाडि बढाउने निर्णय अनुसार नै काम सुरु भएको बताइएको छ ।

०७५/७६ देखि राधेराधे पुलदेखि सुरु भएको यो आयोजनाको पहिलो चरण अन्तर्गत ६९ करोड ७० लाखको बजेटमा सुरु भएको करिडोर निर्माण हालसम्म ६८.६७ प्रतिशत भौतिक र ६०. ६९ प्रतिशत वित्तीय प्रगति भएको समितिले जनाएको छ भने उक्त ठेक्काका लागि ०७६/७७ मा १४ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

यस्तै, दोस्रो चरणमा रु. ५६ करोड ६० लाख ठेक्कासहित ०७५ असोजदेखि सुरु गरेको कामको हालसम्मको भौतिक प्रगति २९.६८ र वित्तीय प्रगति २४.२ प्रतिशत समितिले जनाएको छ । यसका लागि ०७६/७७ मा २० करोड रुपैयाँ विनियोेजन भएको थियो । तेस्रो चरणमा रहेको ठेक्काको भौतिक प्रगति २५.९१ र वित्तीय प्रगति २०.१२ प्रतिशत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here